७ पुष २०८१, आईतवार

थारु समुदायको साझा मुद्दा सदनमा उबुलन्द पार्ने प्रतिवद्धता



धनगढी/ थारु कल्याणकारिणी सभा लगायत १४ वटा जातिय संघ, संस्थाले शनिबार धनगढीमा थारु समुदायबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।

सो कार्यक्रममा प्रदेश सभा सदस्यहरुले आफ्नो समुदायका साझा मुद्दाबारे सदनमा आवाज गरे ।

नागरिक उन्मुक्ति पार्टीको प्रमुख सचेतकसमेत रहनु भएका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले अब सडकमा नभइ थारु समुदायको आवाज सदनमा बुलन्द पार्ने बताए । उनले टीकापुर घटनापछि राज्यले थारु समुदायलाई जबरजस्ती अपराधी बनाउने कार्य गरेको भन्दै कुनै पनि समुदायलाई एकतर्फी पेलेर विकासको कल्पना गर्न नसकिने बताए ।

टीकापुर घटना राजनीतिक रहेकाले मुद्दा खारेजी हुनु पर्ने आफ्नो पार्टीको जोड रहेको उनको भनाइ थियो ।

राज्यले नीतिगत रुपमा थारुमाथि विभेद गर्ने कार्य गरिरहेको भन्दै चौधरीले नीति निर्माण गर्ने ठाउँमा आफूहरु पुगेकाले सुधारका लागि प्रयत्न गर्ने उल्लेख बताए । ‘हामी राजनीतिमा लाग्नु नै एउटा विद्रोह हो’, चौधरीले भने,अब हाम्रो समुदायको आवाज प्रदेश र प्रतिनिधि सभामा बुलन्द हुन्छ ।

यस्तै, अर्का प्रदेश सभा सदस्य खुशीराम डङ्गौरा थारुले साझा मुद्दामा सबै एक हुनु पर्ने भन्दै न्यायका लागि संघर्ष गरिरहने बताए । अर्का प्रदेश सभा सदस्य घनश्याम चौधरीले विकासको साझा सपना आफूहरुले पूरा गर्ने बताए ।

यसैगरी, प्रदेश सभा सदस्य कोइलीदेवी चौधरीले थारुहरु जुनसुकै पार्टीमा भए पनि थारु समुदायको साझा मुद्दामा एक रहेको बताइन । ‘जनताले हामीलाई जुन उद्देश्य लिएर पठाएका छन्, त्यसका लागि हामी तत्पर छौं’, उनले भनिन ।

कार्यक्रममा थारु समुदायको १२ बुँदे साझा मुद्दा प्रदेश सभा सदस्यहरुलाई हस्तान्तरण गरिएको छ । प्रतिनिधि सभा सदस्यहरुको कार्यक्रममा अनुपस्थिति भएकाले प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीमार्फत माग, मुद्दा हस्तान्तरण गरिएको छ ।

थारु कल्याणकारिण सभा कैलालीका कार्यबाहक सभापति माधव थारुले नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई साझा माग, मुद्दाको फाइल हस्तान्तरण गरे ।

कार्यक्रमका सहभागीहरुले टीकापुर घटना थारु समुदाय लागिको सबैभन्दा प्रमुख र साझा मुद्दा रहेको बताए । उनीहरुले राजनीतिक आन्दोलनको क्रममा भएको घटनालाई राजनीतिक रुपमै समाधान र मुद्दा खारेज हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार