७ पुष २०८१, आईतवार

सरकार बनाउन २७ गते भित्र दावी पेश गर्न प्रदेश प्रमुखको आव्हान




धनगढी/ सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दाबी पेश गर्न आव्हान गरेका छन् ।

उनले पुस २७ गते ५ बजे भित्र सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा (२) अनुसार दुई वा दुई भन्दा धेरै दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

सो धारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यकपर्छ ।

यो प्रदेशमा १९ सिट जितेको नेपाली कांग्रेस सबभन्दा ठूलो पार्र्टी बनेको छ । यस्तै नेकपा (माओवादी केन्द्र) को ११ , नेकपा (एमाले) को १०, नागरिक उन्मुक्तिको सात , नेकपा (एकीकृत समाजवादी) को चार , राप्रपा एक र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।

सङ्घीय सरकारमा समर्थन गरेको नागरिक उन्मुक्तीले प्रदेशमा के गर्ने कुनै निर्णय लिएको छैन । सो दलले जो मुख्यमन्त्री आफ्नो दललाई दिन सहमत हुन्छ यसैसंग मिलेर सरकार बनाउन खोजेको देखिन्छ ।

सो दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफूहरु सरकारमा नजाने तर मुख्यमन्त्रीमा दावी रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार