कांग्रेसको संसदीय दलको नेताका लागि सात जनाको दावेदारी
धनगढी/ सुदूरपश्चिम प्रदेश सभामा प्राय : सबै दलले संसदीय दलको नेता छानि सकेको भए पनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने नेता छान्न सकेको छैन ।
कांग्रेसको दलको नेता बन्न सात जनाको दावेदारी प्रस्तुत गरेका छन् । मंगलबार सो पार्टीकोे प्रदेश समितिको बैठकमा सात जनाले दावेदारी प्रस्तुत गरेका हुन ।
दलको नेताका लागि प्रदेशका महामन्त्री मेघराज खड्का, पुराना नेता बहादुरसिंह थापा, शिवराज भट्ट, कमलबहादुर शाह, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा र मानबहादुर रावलले आकांक्षा देखाएका छन् ।
कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह मनुका अनुसार सातै जनालाई सहमतिमा दलको नेता छान्न सुझाव दिइएको छ ।
बुधबार १० बजेसम्म सहमतिमा दलको नेता छान्ने समय दिएका छौ महामन्त्री शाहले भने, सहमति भएन भने प्रजातान्त्रिक विधिमा दलको नेता छान्नका लागि प्रदेश समितिले वातावरण बनाउने छ ।
५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १९ सदस्य छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल हो ।
सुदूरपश्चिममा कांग्रेस बाहेकका दल नेकपा ( माओवादी केन्द्र) , नेकपा (एमाले), नागरिक उन्मुक्ती पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता सर्वसम्मतीले छानिसकेका छन् ।