ओमविक्रमको अडानले खगराज दलको नेता हुन ढिलाइ
धनगढी / नेकपा (माओवादी केन्द्र) को प्रदेश कमिटीको बैठकले गरेको निर्णय अनुमोदन हुन नसक्दा सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता छनौट गर्न ढिलाइ भएको छ ।
शनिवार तीन घण्टा दलको बैठक बस्दा पनि प्रदेश कमिटीले सिफारिस गरेका खगराज भट्टको नाम अनुमोदन हुन सकेन ।
नेता भट्ट सो पार्टीका स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज पनि हुन ।
संसदीय दलको नेतामा केन्द्रीय सदस्य ओमविक्रम भाट सरलले समेत आकाङ्क्षा राखेकोले भट्ट नेता हुन ढिलाइ भएको हो । शनिवार सहमति नजुटेपछि आइतबार बिहान ९ बजे फेरि बैठक बस्ने भएको नेता भट्टले बताए ।
उनले सहमतिबाटै दलको नेता चयन गरिने दाबी गरेका छन् । सांसदहरूले आपसमा सहमति गर्न दुवै जनालाई वान टु वान वार्ता गर्न पनि समय दिएका थिए तर अन्तिम समयसम्म पनि उनीहरूबिच सहमति नजुटेको हो ।
शनिवार बसेको माओवादीको प्रदेश पदाधिकारीको बैठकले पार्टीको वरियताक्रमअनुसार खगराज भट्टलाई दलको नेता चयन गर्न उपयुक्त हुने निर्णयसहितको सुझाव दिएको थियो ।
तर संसदीय दलमा उनलाई चुनौती दिइरहेका भाटले भने आफ्नो पनि उचित व्यवस्थापन हुनुपर्ने अडान लिएका कारण कुरा नमिलेको एक सांसदले जनाए । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ ।