एमाले संसदीय दलका नेतामा रावल र उपनेतामा थापा छनौट
धनगढी/ नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मतले चयन भएका छन् ।
शनिबार विहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मतले दलको नेतामा चयन गरेको हो । रावल कञ्चनपुरबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
सो पार्टीका पोलिटव्युरो सदस्य समेत रहनु भएका रावल तत्कालिन जिल्ला विकास समिति कञ्चनपुरका (२०५४) उपसभापति समेत थिए ।
यसैगरी, उपनेतामा सन्तोष शर्मा थापा (छाया) चयन हुनु भएको छ । एमालेका केन्द्रीय सदस्य थापा कैलालीबाट समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य छानिएकी हुन ।
नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थितिमा उनकै निवास अत्तरियामा भएको बैठकले प्रमुख सचेतक र सचेतकपछि तोक्ने निर्णय गरेको सो पार्टीका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए ।
प्रदेश सभामा नेकपा (एमाले) का १० प्रदेश सभा सदस्य छन् ।
नेकपा (माओवादी केन्द्र) ले पनि आजै दलको नेता चयन गर्ने बताइएको छ । सो पार्टीका प्रदेश सभामा ११ जना सदस्य छन् ।
यसअघि नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता छानिसकेका छन् ।
प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने अझै दलको नेता छान्ने सुरसार गरेको छैन ।