८ बैशाख २०८१, शनिबार

जलवायु परिवर्तनबाट महिलाको प्रजनन स्वास्थ्यमा पनि असर




धनगढी / कैलालीका चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिका चारवडामा छ महिनासम्म गरिएको एक अध्ययनले जलवायु परिवर्तनबाट महिलाको प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने गरेकोे देखाएको छ ।

जलवायु परिवर्तनले समयमा वर्षा नहुने त्यसले गर्दा खेतीपातीमा असर गर्ने, बाढी, पहिरो, असिनापानीले पनि खेतीपाती नष्ट हुने र उपयुक्त खानपान नपाउदा प्रजनन स्वास्थ्यमा समस्या परेको अध्ययनमा उल्लेख छ ।

चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिकाले फाया नेपाल र आइपास संस्थाको सहयोगमा जलवायु, लैगिकता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्वन्धी गरिएको सो अध्ययनले महिलाको प्रजनन स्वास्थ्य राम्रो बनाउन स्थानीय अनुकुलन योजना प्रभावकारीरुपमा लागू गर्नु पर्ने सुझाव पनि दिएको छ ।

जलवायु परिवर्तनले उत्पन्न हुने प्राकृतिक विपत्तिबाट जोगिन महिलाह नै बढी सक्रिय हुन पर्ने भएकोले पनि प्रजनन स्वास्थ्यमा समस्या आउने गरेको पनि अध्ययनमा उल्लेख गरिएको छ ।

अध्ययन प्रतिवेदन बुधबार धनगढीमा सार्वजनिक भएको हो । प्रतिवेदनमाथि टिप्पणी गर्दे चुरे गाउँपालिकामा अध्यक्ष चक्रबहादुर बोगटीले अध्ययनले दिएका सुझाव अनुसार योजना बनाएर अघि बढ्ने बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पनि प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नका लागि वार्षिक योजना बनाएर कार्यान्वयन गर्ने बताए ।

वाह्य परामर्शदाता सुजन कार्कीको समुहले गरेको अध्ययनमा महिलाको प्रजननमा असर पर्न नदिनका लागि खानेपानीका धारा, कुटानी पिसानी गर्ने मील वस्ती वा घर नजिकै बनाउनु पर्ने सुझाव दिएको छ । यस्तै गरेर परम्परागत चुलोले महिला र महिलाको पेटका रहेको शिशुलाई समेत असर गर्ने भएकोले सुधारिएको चुलोमा जोड दिनु पर्ने बताएको छ ।

सुधारिएको चुलोले महिला र बालबालिकाको स्वास्थ्यमा असर त हुन्न नै वनजंगल पनि जोगाएर जलवायुलाई पनि ठिक ठाउँमा राख्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै गरेर महिलालाई तालिम दिएर रोजगारी सृजना गर्नुपर्ने, नगदे वाली लगाउन प्रेरित गर्नुपर्ने जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि अध्ययन प्रतिवेदनले दिएको छ ।

सो अध्ययन चुरे गाउँपालिकाका वडा नम्बर १ र ४, धनगढी उपमहानगरपालिकाका १५ र १७ का १८५ जना महिलामा गरिएको थियो । अध्ययन १८ देखि ४९ र ४९ वर्ष माथिका महिलामा गरिएको थियो ।

यही क्रममा चुरे गाउँपालिकाका वडा नम्बर १ र ४ मा जलवायु परिवर्तनका सन्द्र्धभमा स्थानीय अनुकुलन योजना अन्र्तगत १३० घरमा सुधारिएको चुलो दिइएको र धनगढी उपमहानगरपालिकाका वडा नम्बर १७ का ७८ घरमा पनि चुलो दिने योजना रहेको फाया नेपालका कार्यक्रम संयोजक मानबहादुर डाँगीले बताए ।

उनका अनुसार महिलाहरुलाई स्वास्थ्य सेवा लिन गएको बेला सजिलो होस भनेर चुरे गाउँपालिकाका वडा नम्बर १ र ४ मा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चारवटा चर्पी बनाइएको छ । भने अनिच्छित गर्भपतनका लागि सजिलो होस भनेर स्वास्थ्यकर्मीलाई तालिम पनि दिइएको छ ।

यस्तै गरेर वडा नम्बर १ मा दुई कोठाको गाउँघर क्लिनिक पनि बनाइएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष माधवराज राना, फाया नेपालका पूर्व अध्यक्ष शेरबहादुर बस्नेत, आइपासका राष्ट्रिय निर्देशक जगदीश्वर घिमिरे र चुरे स्वास्थ्य शाखाका प्रमुख गजेन्द्र विष्ट लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार