७ पुष २०८१, आईतवार

सुदूरपश्चिममा पनि कांग्रेस इतरकै सरकार बन्ने




धनगढी/ सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि केन्द्रमा बनेको नेकपा ( एमाले ) र माओवादीको गठबन्धनलाई बहुमत पुग्ने भएको छ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा मिसिएपछि यहाँ पनि १९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था सिर्जना भएको हो ।

सरकार बनाउन २७ जनाको समर्थन चाहिनेमा नेकपा माओवादी केन्द्र (११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा (१) गरेर २९ सिटसहित नयाँ गठबन्धन सरकार बन्ने भएको हो । अब यहाँ नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्नेछ भने नेकपा (एकीकृत समाजवादी) समेत प्रतिपक्षमा पुगेको छ । यद्यपी एमालेका नेता सुवास नेमांगले एकीकृत समाजवादी पनि सरकारमा आउने विश्वास व्यक्त गरेका छन् ।

एमाले सुदूरपश्चिमका सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले शीर्ष तहका नेताहरुबीच हुने समझदारीका आधारमा प्रदेश सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने कुराको टुंगो लाग्ने बताए । पाठकले संघीय सरकारमा शक्ति बाँडफाँट भएपछि प्रदेश सरकार गठनका विषयमा छलफल अघि बढ्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले पनि प्रदेश सरकारको नेतृत्व र मन्त्रालयको बाँडफाँट सबै दलहरुबीचको सहमतिका आधारमा हुने बताए । पण्डितले अहिले संघीय सरकार गठनको प्रक्रिया अघि बढेकाले छिट्टै प्रदेश सरकार गठनका सम्बन्धमा छलफल हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार