७ पुष २०८१, आईतवार

भुवा पर्वको अवसरमा प्रदेशभर बिदा दिनुपर्छ : प्रदेश प्रमुख जोशी



धनगढी/ सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले संस्कृति, चाडपर्व र रीतिरिवाज संरक्षण गर्दै अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

बाजुरेली सेवा समाजले धनगढीस्थित खुला मञ्चमा आयोजना गरेको भुवा पर्वको शुक्रबार उद्घाटन गर्दै उनले संस्कृति, चाडपर्वको जगेर्ना गर्न आवश्यक रहेको बताएका हुन् । संस्कृति पहिचान रहेको प्रदेश प्रमुख जोशीको भनाइ थियो। ‘यदि हाम्रो धर्म संस्कृति नै छैन भने हामी मानव हुनुको औचित्व छैन, उनले भने,‘त्यसकारण यसको जगेर्ना गरेर अगाडि बढ्न आवश्यक छ।’

हिन्दू धर्मावलम्बीले संस्कृतिमाथि अगाढ विश्वास गर्दै आएको प्रदेश प्रमुखको भनाइ थियो। बाजुरेली सेवा समाजले भुवा पर्वको आयोजना गरेर सबैलाई भेटघाट गर्ने अवसर जुटाउनुका साथै पर्वको संरक्षण गरेर भुवा पर्वको ज्ञान युवा पुस्तालाई दिने कार्य गरिरहेको उनले बताए ।

‘भुवा पर्व आयोजना गर्नुको उद्देश्य अत्यन्त सह्रानीय र प्रशंसनीय छ,’ उनले भने, ‘यसलाई आगामी दिनमा पनि निरन्तरता दिइ रहनु पर्दछ।’ चाडपर्वको ठूलो महत्त्व रहेको उल्लेख गर्दै प्रदेश प्रमुख जोशीले यसले एक आपसमा सौहार्दता र हार्दिकता बढाइदिने काम गरेको बताए ।

द्वापर युगमा कौरव–पाण्डवले युद्धमा तरवार र ढाल प्रयोग गरेको उल्लेख गर्दे प्रदेश प्रमुखले पछि नेपालमा बाइसे/चौबिसे राज्यका राजा रजौटाले सैनिकलाई प्रशिक्षण दिनका लागि ढाल र तरवार प्रयोग गरेको बताए । त्यसैले ढाल र तरवार हाम्रो समाजको सुरक्षा व्यवस्थाको निम्ति आवश्यक रहेको उनको भनाइ थियो। कार्यक्रममा प्रदेश प्रमुख जोशीले भुवा पर्वको अवसरमा प्रदेश सरकारले सकेसम्म प्रदेशभर नै बिदा दिइनु पर्ने बताए।

पहिले प्रदेशभर बिदा दिइएकोमा अहिले पहाडका चार जिल्लामामात्रै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय चित्त बुझ्दो नरहेको उनको भनाइ थियो। ‘‘नयाँ सरकार गठन भएपछि बिदाका लागि यहाँहरु पनि घचघच्याउनुस, मेरो तर्फबाट म पनि लाग्छु,’ उनले भने।

यसैगरी, पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पनि भुवा पर्वको अवसरमा सरकारले प्रदेशभर नै बिदा दिनु पर्नेमा जोड दिए । खुला मञ्चमा तीन दिनसम्म विभिन्न नृत्य देखाएर भुवा पर्व मनाइने समाजले जानकारी दिएको छ।

हात हातमा तलवार र ढाल नचाउँदै भुवा पर्वमा नृत्य गर्ने चलन रहेको छ। पहाडी जिल्ला बाजुरामा धुमधामकासाथ मनाइने यो पर्वलाई कैलाली, कञ्चनपुरमा बसाइँ सरेर आएका बाजुरेली यहाँ मनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार