७ पुष २०८१, आईतवार

प्रदेश प्रमुखसमक्ष निर्वाचन प्रतिवेदन पेश




धनगढी/ निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीसमक्ष प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले शनिबार प्रदेश प्रमुखको कार्यालयमा एक संक्षिप्त कार्यक्रमबीच प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरिन् ।

आयोगले शनिबार सबै ७ प्रदेशमा प्रदेश सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउने कार्यक्रम राखेको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३५ पुरुष र १९ महिला निर्वाचित भएका छन् । २०७४ को प्रदेश सभामा १७ जना महिलाको प्रतिनिधित्व रहेको थियो ।

प्रदेश सभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ नेपाली काँग्रेसले १२, नेकपा माओवादी केन्द्रले ८, नागरिक उन्मुक्ति पार्टीले पाँच तथा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी ) पार्टीका तीन/तीन जना निर्वाचित भएका थिए । एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

समानुपातिकतर्फ नेकपा एमाले र नेपाली काँग्रेसले ७/७ सीट पाएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रले तीन, नागरिक उन्मुक्ती पार्टीले दुई र नेकपा (एकीकृत समाजवादी ) पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक सीट पाएका छन् ।

आयोगले जारी गरेको प्रेसनोटमा सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ नेकपा एमालेले ३२ दशमलव २३ प्रतिशत मत पाएको छ । काँग्रेसले ३१ दशमलव ३६ मत पाएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १४ दशमलव २५, नागरिक उन्मुक्ती पार्टीले ११ दशमलव ५६, नेकपा एकीकृत समाजवादी पार्टीले ५ दशमलव १५ र राप्रपाले ५ दशमलव १९ प्रतिशत मत पाएको छ ।

प्रत्यक्ष तथा समानुपातिकतर्फको अन्तिम परिणामसँगै सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस १९ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । नेकपा माओवादी केन्द्र ११ सिटसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले १० सिटसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै, प्रदेश सभामा नागरिक उन्मुक्ती पार्टीका सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार र राप्रपाको एक सिट रहेको छ । प्रदेश सभामा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार