लम्कीमा मेयरले पत्रकारलाई बन्धक बनाएको घटनाको छानविन गर्न महासंघको माग

धनगढी / कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले पत्रकारलाई बन्धक बनाएर समाचारका लागि रेकर्ड गरिएका भिडियो तथा फोटोहरु डिलिट गर्न गरेको घटनाको छानविन गर्न माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ कैलाली लगायतका विभिन्न पेशागत संघसंगठनले घटनाको छानविन गर्दै दोषीलाई कारवाही गर्न माग गरेका हुन् । पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले प्रेस विज्ञप्ती जारी गर्दै ढुङ्गानालाई बन्धक बनाएर भिडियो र फोटो डिलिट गरेको घटनाप्रती ध्यानाकर्षण भएको जनाएका छन् ।

‘पत्रकार ढुङ्गानाले खिचेका भिडियो र फोटोलाई मेयर शाहीले डिलिट गराएको घटनाले पत्रकारमाथि दुव्यर्ववहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रतामाथिको प्रहार हो भन्ने हाम्रो ठहर छ,’ जोशीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘घटनाको छानविन गरि दोषीमाथि कारवाहीका लागि स्थानीय प्रशासनसँग माग गर्दछौँ ।’ प्रेस युनियन कैलालीका सचिव सिताराम ओझाले पनि विज्ञप्ती मार्फत घटनाको छानविन र दोषीलाई कारवाहीको माग गरेका छन् ।

यसअघि प्रेस चौतारी सुदूरपश्चिमका महासचिव शिवराज भट्ट र प्रेस चौतारी कैलालीका सचिव जनक विष्टले पनि विज्ञप्ती जारी गर्दै घटनाको छानविन गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् ।


मेयर शाहीले नगरपालिकाको ट्रयाक्टर र वारुण यन्त्र दमकलको भर्याङ निजी घर निर्माणमा प्रयोग गरेको विषयमा रिर्पोटिङ गर्ने क्रममा न्यूज ट्वान्टी फोर टेलिभिजनका संवाददाता खेम ढुङ्गानालाई नियन्त्रणमा लिएर बन्धक बनाएर भिडियो र फोटो डिलिट गराएकी थिइन् ।




