१६ चैत्र २०८०, शुक्रबार

गाउँपालिका अध्यक्षलाई कारबाहीका लागि सिफारिस




धनगढी/ नेकपा एमाले बैतडीले पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई पार्टीबाट निस्काशनका लागि निर्णयसहित सिफारिस गरेको छ ।

एमाले बैतडीले गत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका गाउँपालिका अध्यक्ष चन्दलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

एमाले बैतडीको बैठकले सर्वसम्मतीबाट उनलाई पार्टीको साधारण सदस्यबाट समेत निस्काशन गर्नेगरि प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पालले बताए । एमाले प्रदेश सचिव धर्मराज पाठकले गाउँपालिका अध्यक्ष चन्दलाई कारबाहीका लागि बैतडी जिल्ला कमिटीले निर्णय गरेको पुष्टि गरे । अनुमोदनसंग उनले भने– जिल्ला कमिटीबाट सर्वसम्मतीले कारबाहीको सिफारिस गर्ने निर्णय भएको छ । लिखित रुपमा सिफारिस आएपछि प्रदेश कमिटीले अन्तिम निर्णय लिनेछ ।

एमाले बैतडीका अध्यक्ष पालले भरखरै भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चन्दले पार्टीका उम्मेदवारविरुद्ध भूमिका निर्वाह गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्न प्रदेश कमिटिलाई सिफारिस गरिएको बताए ।

उनले चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटिलाई आग्रह गरिएको जानकारी दिए ।

बैतडीमा प्रदेश सभा (ख) मा एमाले उम्मेदवार लीलाधर भट्ट काँग्रेसका शिवराज भट्टसँग पराजित भएका थिए ।

यसैबीच, एमाले बैतडी जिल्ला कमिटीले कारबाहीको सिफारिस गरिएका गाउँपालिका अध्यक्ष चन्दले आफूमाथि पूर्वाग्रहपूर्वक कारबाहीको सिफारिस भएको दाबी गरे । उनले आफूमाथि गरिएको कारबाही विरुद्ध अदालतमा चुनौति दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार