७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम महोत्सव शुरु
सुदूरपश्चिमको विकासका योजनाहरू अघि बढाएका छौं– प्रधानमन्त्री देउवा



धनगढी/ सुदूरपश्चिम महोत्सव, २०७९ बिहीबार धनगढीमा शुरु भएको छ । महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने छ । बिहीबार एक विशेष समारोहबीच प्रधानमन्त्री देउवाले महोत्सवको उद्घाटन गरे ।

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको यो महोत्सव १६ औं संस्करण हो । कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । संघले महोत्सवमार्फत सरकारसमक्ष सुदूरपश्चिम प्रदेशका आर्थिक समृद्धिका प्रमुख विषयहरूलाई मागका रुपमा प्रस्तुत गर्दै आएको छ । यस पटक संघले प्रदेशको आर्थिक समृद्धिका प्रमुख आधारका रुपमा १५ वटा माग प्रस्तुत गर्दै प्रधानमन्त्री देउवालाई १५ किलो तौलको माला पहि¥यायो ।

संघका तर्फबाट सरकारसमक्ष १५ बुँदे मागपत्र प्रस्तुत गर्दै आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष पुष्पराज कुँवरले गौरिफन्टा सीमानाकाको स्तरोन्नती, विशेष आर्थिक क्षेत्र र विशेष आर्थिक प्याकेज, कृषि विश्वविद्यालय, चिनसंगको व्यापारिक नाका, कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी राजमार्गमा पर्ने ऐलानी जमिन दर्ता, गेटा मेडिकल कलेज सञ्चालन, धनगढीमा प्रदर्शनीस्थल, पश्चिम सेती जलविद्युत आयोजना, द्रुतमार्ग लगायतका विषयमा सरकारबाट गम्भीरतापूर्वक कार्यान्वयनका लागि आग्रह गरे ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले मुलुकको आर्थिक अवस्था निकै कमजोर बनेको र राष्ट्रबैङ्कको नयाँ मौद्रिक नीतिका कारण उद्योग व्यवसायमा ठूलो नकारात्मक असर परेको, बैङ्क ऋणब्याजमा अचाक्ली बृद्धि गरिएका कारण व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेकोबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि सरकारले केही प्रमुख आयोजनाहरू अघि बढाइसकेको बताए । उनले भने– सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले पश्चिम सेतीका साथै रानी जमरा कुलरिया सिंचाईं, महाकाली सिचाईं तेस्रो, सुख्खा बन्दरगाह लगायतका योजनाहरू अघि बढाइसकेको छ । यो कृषि र पर्यटनको विकासको निकै सम्भावना भएको प्रदेश हो । सरकारले यसका लागि काम गरिरहेको छ ।

उनले सुदूरपश्चिम प्रदेशको विकासमा भारतको पनि चासो रहेको बताए । उनले गौरिफन्टा नाकाको स्तरोन्नतीबारे भारतीय प्रधानमन्त्रीसंग छलफल गर्ने पनि बताए । पश्चिम सेती परियोजना चाढै कार्यान्वयनमा आउने विश्वास दोहोराउँदै उनले भने– यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सकारात्मक हुनुहुन्छ । हामीले पश्चिम सेती भारतको कम्पनीलाई दिने निर्णय गरिसकेका छौं । यो छिट्टै कार्यान्वयनमा आउँछ ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम पर्यटन प्रदेश रहेको चर्चा गर्दै दक्षिण–उत्तर सडक सञ्जाल विस्तारलाई प्राथमिकताका साथ अघि बढाइने बताए । भने– यसका लागि तीनै तहका सरकारहरूबीच सहकार्य आवश्यक छ ।

महोत्सव उद्घाटन समारोहमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बैङ्क ऋणब्याजमा बृद्धि आएसँगै व्यापार व्यवसायमा मात्रै ह्रास आएको नभई श्रमबजारमा समेत नकारात्मक असर परेकोले सरकारले छिट्टै समाधानका लागि उपाय अवलम्बन गर्ने बताए ।

मन्त्री कुँवरले उद्योग, व्यवसायलाई संरक्षण गरिएन भने अर्थतन्त्रमा गम्भीर असर पुग्ने बताए । उनले भने– सरकार यसमा गम्भीर छ । व्यवसाय कमजोर हुँदा श्रम बजार प्रभावित भइरहेको छ । श्रम विदेशतिर पलायन भइरहेको छ । सरकार पुँजी तथा श्रम पलायन रोक्न निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा बाह्य लगानी भित्राउन व्यवसायीका लागि जग्गा, विद्युत, करछुट र सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए । उनले भने– यी कार्यको क्षेत्राधिकार स्थानीय र प्रदेश सरकारलाई छैन, त्यसैले केन्द्र सरकारले नै पहल गर्नुपर्छ ।

नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले पछिल्ला वर्षहरूमा नेपालको अर्थतन्त्र निकै कमजोर बनेको चर्चा गरे । उनले भने– अर्थतन्त्र तहसनहस बन्दै गएको छ । मौद्रिक तरलता कमजोर बनेको छ । कृषि तथा गैरकृषि उत्पादनमा ह्रास आएको छ । बैंक ऋणको ब्याज अचाक्ली बृद्धि हुँदा व्यवसायीले धान्नै नसक्ने अवस्था सिर्जना भएको छ ।

उनले आयात रोक्ने, वस्तुको मुल्य बढाउने र उपभोगमा कमी ल्याउने नीतिका कारण अर्थतन्त्र र व्यवसायमा विकराल अवस्था सिर्जना भइरहेकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गरे । उनले आग्रह गरे– मुलुकमा आर्थिक संकटको अवस्था आएको छ । नेपाल उद्योब बाणिज्य महासंघ अर्थतन्त्रलाई जोगाउन चाहन्छ । प्रधानमन्त्रीज्यू तत्काल हस्तक्षेप गरिदिनुस् ।

कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी, राष्ट्रिय यातायात महासंघका अध्यक्ष विजयबहादुर स्वार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आयोजक संस्था कैलाली उद्योग बाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले स्वागत गरेका थिए ।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।
महोत्सवमा कृषि तथा गैरकृषि उपज, बैङ्क तथा वित्तीय, प्रविधि, होटल तथा व्यवसायिक गीरु चार सय बढि स्टलहरू रहेका छन् ।

आयोजक कैलाली उद्योग बाणिज्य संघले महोत्सव आयोजनामा दुई करोड रुपैयाँ बढि खर्च हुने र सात करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ ।

उद्घाटन समारोहमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुराएका व्यक्तित्वहरूलाई सम्मान गरियो । संघले खेलकुदमा मकेन्द्रबहादुर सिंह, स्वास्थ्यमा डा. सुरेश पन्त, उद्योगतर्फ शंकरबहादुर बोगटी, समाजसेवामा सत्यराज पनेरु, कृषिमा मनोज पडाल, शिक्षातर्फ पदमसिंह कुँवर, निजी शिक्षामा अनिता पन्त, साहित्यतर्फ यज्ञराज जोशी यात्री र कलातर्फ सुप्रिया मल्ललाई सम्मान गरेको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरे ।

त्यस्तै, राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता आनन्द विक (कराते) र जालेन्द्र शाही (फेन्सिङ) लाई नगद पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार