४ बैशाख २०८१, मंगलवार

माया हत्या घटना : आरोपित सशस्त्रका जवान भरत पक्राउ




धनगढी/ बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीका २१ वर्षीया माया लुहारको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी बलका जवान भरतराम कोलीलाई आइतबार बिहान पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा प्रहरीले कोलीलाई पक्राउ गरेको हो ।

अभियुक्त कोलीलाई थप अनुसन्धानका लागि बैतडी लगिँदैछ । २२ वर्षीय भरत सशस्त्र प्हरीको पोखरा कास्कीस्थित हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालयमा कार्यरत थिए । गत बुधबार बिहान माया मृत अवस्थामा फेला परेपछि आफन्तले भरत विरुद्ध प्रहरीमा किटानी उजुरी दिएका थिए । घटनापछि कोली फरार भएका थिए ।

गत मंगलबार बिहान लुगा सिलाउन भनेर भदै नाता पर्ने नेहा लुहारसंगै घरबाट निस्केकी मायाको बुधबार बिहान घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो । उनीसंगै गएकी १५ वर्षीया नेहा पनि गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन । उनको हाल डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार