१५ चैत्र २०८०, बिहीबार

धनगढीको निषेधाज्ञा शनिबार विहान ४ बजेबाट हट्ने




धनगढी/
१५ वर्षीया चेतना साउदको मृत्यु भएपछि उत्पन्न परिस्थितिका कारण धनगढी बजारका केही ठाउँमा जारी गरिएको अनिश्चितकालिन निषेधाज्ञा शनिबार विहान ४ बजेदेखि लागू हुने गरेर हटेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दे निषेधाज्ञा हटाएको उल्लेख गरेको छ । विहिबार विहान धनगढी उपमहानगरपालिका‐५ स्थित हसनपुरमा रहेको पञ्चोदय उच्च माविमा कक्षा ८ मा अध्ययनरत साउदको सडक बनाउन प्रयोग भएको ग्रेडरबाट मृत्यु भएपछि अनिश्चितकालिन निषेधाज्ञा लाग्दै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले आफन्तले मृतक छात्रा साउदको शव बुझेर दाहसंस्कार गरेपछि धनगढीको अवस्था सामान्य हुने अपेक्षाले अनिश्चितकालिन निषेधाज्ञा हटाइएको बताए ।

विद्यार्थीहरुले ग्रेडरका चालकलाई कडा कारवाही गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन प्रदर्शन गरिरहेका थिए । यसक्रममा शुक्रबार प्रहरी र विद्यार्थीवीच झड्प भएको थियो । सो क्रममा केही विद्यार्थी पक्राउ समेत परेका थिए ।

प्रजिअ थापाले पक्राउ परेका विद्यार्थीलाई छोडी सकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार