१३ बैशाख २०८१, बिहीबार

चेतना मृत्यु घटना : निषेधाज्ञा तोड्दै विद्यार्थीहरू सडकमा । २१ जना प्रहरीको नियन्त्रणमा । ३७ राउण्ड अश्रुग्यास प्रहार ।




धनगढी/ ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्रा चेतना साउँदको मृत्युको घटनामा आक्रोसित विद्यार्थीहरूले शुक्रबार पनि धनगढीमा निषेधाज्ञा तोड्दै चर्को विरोध प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म धनगढीमा निषेधाज्ञा जारी गरेको भए पनि शुक्रबार बिहानैदेखि स्कूले पोशाकमा विद्यार्थीहरूले चर्को नाराबाजीसहित धनगढीका विभिन्न स्थानमा प्रदर्शन गरे ।

साना कक्षाका विद्यार्थीहरू समेत सहभागी रहेको विरोध प्रदर्शनका कारण धनगढी दिनभरी नै तनावग्रस्त बनेको छ । स्थिति उग्र बन्न थालेपछि प्रहरीले ३७ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । विद्यार्थीहरूको विरोध प्रदर्शनलाई दृष्टिगत गरी धनगढीको मुख्य बजार, राष्ट्रबैंकदेखि शिवनगर सडक, हसनपुर, पिपलचौतारा सहित विभिन्न स्थानमा ठूलो संख्यामा प्रहरी सुरक्षाकर्मीहरू तैनाथ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले विरोध प्रदर्शनमा रहेकामध्ये विद्यार्थी र अन्यगरी २१ जनालाई नियन्त्रण लिएको जानकारी दिए ।

बिहीबार बिहान सवा १० बजेतिर साइकलमा स्कूल गइरहेकी धनगढी–५ तारानगर बस्ने १५ वर्षीया चेतनाको वडा ५ हसनपुर पिपलचौतारा नजिक ग्रेडरको ठक्करबाट मृत्यु भएको थियो । सडक कालोपत्रे सम्याइरहेको ग्रेडर ब्याक गर्ने क्रममा छात्रा चेतनालाई साइकलसहित कुल्चिएको थियो । उनी धनगढी–५ स्थित पञ्चोदय माविका कक्षा ८ का छात्रा हुन् ।

घटनापछि आक्रोसित पञ्चोदय माविका विद्यार्थीहरूले बिहीबार दिनभरी पनि हसनपुर पिपलचौतारासहित धनगढीका विभिन्न स्थानमा सडकमा टायर बाल्नुका साथै चर्को विरोध प्रदर्शन गरेका थिए । स्थिति तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

कैलाली प्रहरीले छात्रा चेतनालाई ठक्कर दिने चालक र ग्रेडर नियन्त्रणमा लिइसकेको छ । मृतक बालिकाका अभिभावकहरू प्रहरीको सम्पर्कमा आइसकेको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रवक्ता शिवराज जोशीले छात्रा चेतना मृत्यु घटनाप्रति प्रहरी, प्रशासनले गम्भीरतापूर्वक कारबाही अघि बढाएको बताए । उनले विद्यार्थी आन्दोलनमा घुसेर अभद्र तथा उछृंखल गतिविधि गर्ने अवस्था आउन नदिन केहीलाई नियन्त्रणमा लिनुपरेको र अश्रुग्यास प्रहार गर्नुपर्ने अवस्था आएको बताए ।

यसैबीच, प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले आन्दोलनरत पक्षलाई संयमता अपनाउन तथा वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न मृतकका परिवार र प्रशासन दुबै पक्षलाई आग्रह गरेका छन् । आज शुक्रबार दिउँसो प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश सभा सदस्य देउवाले “घटनाका दोषीमाथि कारबाही र मृतकका परिवारजनलाई क्षतिपूर्ति र न्यायका लागि आवश्यक कानुन उपचारको प्रकृयामा आफ्नोे पूर्ण साथ र सहयोग रहने” जनाएका छन् ।

उनले छात्रा चेतनाको मृत्युपछि उत्पन्न परिस्थितिलाई गम्भीरतापूर्वक लिई तत्काल मृतकका परिवारजन र आन्दोलनरत पक्षका माग र मुद्दालाई तत्काल सम्बोधन गर्न स्थानीय प्रशासनलाई माग गरेका छन् । विज्ञप्तीमा उनले भनेका छन्– म अराजक, उच्छृंखल तथा कानुनको बर्खिलाप हुने कुनै पनि किसिमका क्रियाकलाप नगर्न आन्दोलनरत पक्षसंग आग्रह गर्दछु ।

त्यस्तै, प्रदेश सभा सदस्य रमेशसिंह धामीले आन्दोलनरत पक्षलाई संयमता अपनाउँदै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न सबैमा आग्रह गरेका छन् । उनले दोषीमाथि कारबाही र मृतकका परिवारजनलाई क्षतिपूर्ति र न्यायका लागि आवश्यक कानुन उपचार प्रक्रियामा आफ्नो साथ रहने पनि विज्ञप्तीमार्फत प्रतिवद्धता व्यक्त गरेका छन् ।

अनेरास्ववियु कैलालीले पनि प्रेस विज्ञप्ती जारी गर्दै घटनामा दोषिमाथि कडा कानुनी कारबाही, पक्राउ गरिएका विद्यार्थीहरूको रिहाई तथा मृतकका परिवारजनलाई उचित क्षतिपूर्तिको माग गरेको छ ।

यता, प्रहरीले चेतना मृत्यु घटनामा संलग्न ग्रेडर चालकलाई पक्राउ गरिसकेको र कडा कानुनी कारबाही गर्नेगरी अनुसन्धान प्रक्रिया अघि बढिसकेकोले सबैलाई संयमित हुन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै आन्दोलनका नाममा निषेधाज्ञा क्षेत्रमा भेला हुने, ह्ुलहुज्जत गर्ने जोसुकैलाई कानुनी कारबाही गरिने हुँदा त्यस्तो क्षेत्रमा नजान विद्यार्थीहरूमा आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा छात्रा चेतनाको मृत्युको विषयलाई लिएर हिजोदेखि भइरहेको विद्यार्थी आन्दोलन र सोबाट हुने सम्भाव्य परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएकोमा निषेधाज्ञा तोकिएको क्षेत्रमा विद्यार्थी लगायतका अन्य व्यक्तिहरू समेतले विरोध कार्यक्रम गर्न खोज्दा प्रहरीले सामान्य बल प्रयोग गरी तितरवितर र उछृंखल गतिविधि गर्ने केही विद्यार्थी र अन्य व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार