१३ बैशाख २०८१, बिहीबार

धनगढीमा पाँच जना भन्दा वढी भेला हुन नपाइने




धनगढी/ कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले धनगढीमा पाँच जना भन्दा बढी मानिसहरु भेला हुन र हिड्न नपाइने आदेश जारी गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नंं ५ स्थित पञ्चोदय मावि हसनपुरमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउदको बिहीबार विहान ग्रेडरबाट च्यापिएर मृत्यु भएपछि उत्पन्न समस्या बढ्न नदिनका लागि सो आदेश जारी गरिएको हो ।

सो घट्नापछि विद्यार्थीहरुले अराजक गतिविधि गर्न थालेपछि सर्वसाधारण नागरिकहरुको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन अनुसार सो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ( ३क ) अनुसार पाँच जनाभन्दा वढी व्यक्तिहरु आवत जावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन जिल्ला सुरक्षा समिति कैलालीको निर्णयानुसार निषेध गरिएको उनले बताए ।
धनगढीमा पूर्वमा धनगढी उपमहानगरपालिका १ पुरानो फूलवारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी उपमहानगरपालिका ४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका ५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन,
दक्षिणमा धनगढी उपमहानगरपालिका १ र २ स्थित हुलाकी राजमार्गसम्म पाँच जनाको भेला र हिँडडुल गर्न नपाइने आदेश गरिएको छ ।

सो आदेश शुक्रबार विहान ७ बजेसम्म लागू हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार