सुदूरपश्चिममा भूकम्प : घर भत्किँदा ६ को मृत्यु

धनगढी/ बुधबार बिहान सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु रहेको भूकम्पका कारण घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएको छ । भूकम्पबाट भएको जनधनको क्षतीको पूर्ण विवरण भने आउन बाँकी छ । बुधबार बिहान २ बजेर १२ मिनेटमा बजे ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
भूकम्पबाट घर डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सानागाउँ इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार घर भत्किँदा ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहराको मृत्यु भएको छ ।
भर भत्किँदा इन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएका छन् ।

भूकम्पबाट डोटीको पूर्विचौकी तथा सायल गाउँपालिकामा बढी जनधनको क्षती भएको अनुमान गरिएको छ । बुधबार बिहान ६ बजेसम्मको जनाकारी अनुसार पूर्वीचौकी गाउँपालिकामा भूकम्पबाट ८ घर भत्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार पूर्वीचौकी, सायल गाउँपालिका लगायतका स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्दार टोली खटिएको छ । स्थानीय पनि उद्दार कार्यमा जुटेका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंले बिहान ३.०५ बजे जारी गरेको सूचना अनुसार खप्तडबाबा आश्रम (खप्तड राष्टिय निकुञ्ज, डोटी) वरिपरि ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसअघि राति ९ बजेर ७ मिनेटमा पनि सोही ठाउँ केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
तस्वीर, सामाजिक सञ्जाल




