कर्णाली नदीमा बाढीको सतह अझै खतरा चिन्हमाथि

धनगढी/ पाँच दिनदेखिको अविरल वर्षासंगै कैलालीमा कर्णाली नदीमा बाढीको सतह अझै खतरा चिन्हभन्दा माथि रहेको छ । आज सोमबार साँझ ५ बजेतिर बाढीको सतह केही कम भएको भए पनि अझैं खतरा चिन्हभन्दा माथि रहेको छ ।
कर्णाली चिसापानीस्थित बाढी मापन केन्द्रका प्राविधिक पार्वती गुरुङका अनुसार अहिले साँझ ५ बजे कर्णाली नदीमा बाढीको सतह १० दशमलव ९५ मिटरमा झरेको छ । आज बिहान ४ बजे बाढीको सतह १२ दशमलव ३५ मिटर पुगेको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज (सोमबार) पनि कैलाली र कञ्चनपुरका कर्णाली, कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधर, रङ्घुन, पन्टुरा लगायतका नदीखोलामा बाढीको सतह बढेको छ । जल तथा मौसम फिल्ड कार्यालय, अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार पाँच दिनदेखि परेको वर्षाका कारण कैलाली र कञ्चनपुरका अधिकांश नदीखोलामा बाढी बढेको छ । उनले भने– हिजो (आइतबार) र आज (सोमबार) बिहान कर्णाली लगायतका नदीमा बाढीको सतह निकै बढेको थियो, आज दिउँसोदेखि घट्न थालेको छ ।

कैलालीमा पछिल्लो २४ घन्टामा ९२ दशमलव ९० मिलिमिटर वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै। डडेल्धुरामा ६० दशमलव ८० र दिपायलमा ५० दशमलव ९० मिलिमिटर वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली लगायत सुदूरपश्चिम प्रदेशमा आगामी बुधबारसम्म वर्षा हुने सम्भावना रहेको छ ।

तस्वीर, देवानन्द न्यौपाने, लम्की




