६ चैत्र २०८०, मंगलवार

म कैलाली ४ को स्वाभाविक उम्मेदवार हुँ– पूर्व केस भण्डारी



धनगढी/ नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफु कैलाली ४ को स्वाभाविक उम्मेदवार भएको बताएका छन् ।

उनले यस पटक मात्रै प्रत्यक्षतर्फको चुनाव लड्ने र त्यसबाहेक अरु कुनै क्षेत्रमा नजाने पनि दोहोराए । नेता भण्डारीले कैलाली ४ को उम्मेदवारीबारे फैलाइएका भ्रममा नपर्न नेताकार्यकर्ता र जनतालाई आग्रह समेत गरे ।

पाँच दलीय गठबन्धनबीच प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ कैलालीका ५ मध्ये तीन क्षेत्र काँग्रेस र दुई क्षेत्र माओवादी केन्द्रलाई दिने सहमति भइसकेको छ । कैलाली १, ४ र ५ काँग्रेसको भागमा परेको छ भने २ र ३ माओवादी केन्द्रले पाएको छ । कैलाली ४ बाट नेता भण्डारीसहितको नाम सिफारिस भएको छ ।

बिहीबार धनगढीमा पत्रकार भेटघाटका क्रममा ७२ वर्षीय नेता भण्डारीले भने– मेरो साढे पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा मैले २०७४ सालमा पहिलो पटक कैलाली ४ मा काँग्रेसबाट चुनाव लडे, तर पराजित भए । त्यसपछिका दिनमा म निरन्तर सो क्षेत्रका नेताकार्यकर्ता र जनतामाझ सक्रिय रहेको छु । सो क्षेत्रमा मलाई सबैले स्वाभाविक उम्मेदवारका रुपमा स्वीकार गरिसकेको मैले अनुभव गरेको छु ।

उनले भने– हुन त म दुई पटक काँग्रेसको केन्द्रीय सदस्य बने । राष्ट्रिय सभा सदस्य पनि बने, तर सक्रिय राजनीतिमा लागेको जोकोहीलाई पनि जनतामाझ आफूलाई परीक्षण गर्ने लक्ष्य हुन्छ नै, मैले पनि जीवनको उत्तरार्धमा आफूलाई जनतामाझ परीक्षण गर्ने चाहना राखेको छु ।

उनले आफू यस पटक मात्रै चुनाव लड्ने दोहोराए । भने– त्यो क्षेत्रबाहेक म अरु कुनै पनि क्षेत्रमा जान्न । न, समानुपातिक, राष्ट्रिय सभा वा अरु कुनै अवसरका लागि इच्छुक छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार