६ चैत्र २०८०, मंगलवार

आसन्न निर्वाचन, २०७९ : कैलाली ४ मा काँग्रेसबाट बलायर, ५ मा पन्त, १ मा चौधरी



धनगढी/ आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनबीच सिटको भागबण्डामा लगभग सहमति भएसंगै कैलालीमा कुन क्षेत्र कसको भागमा ? भन्ने पनि टुङ्गो लागेको छ ।

कुनै ठूलै उलटपुलट भएन भने पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा काँग्रेसको भागमा क्षेत्र १, ४ र ५ परेको छ । क्षेत्र २ र ३ माओवादी केन्द्रको भागमा परेको छ ।

प्रदेशको राजधानी र प्रमुख राजनीतिक तथा व्यापारिक केन्द्र समेत रहेको कैलालीमा कुन पार्टीबाट को उम्मेदवार बन्छन् ? भन्ने सधैं चर्चाको विषय रहने गरेको छ । २०७० सालमा कैलालीको साविकको क्षेत्र ६ (हाल ५) बाट काँग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा काँग्रेसबाट चुनाव लडेकी नेतृ आरजू राणा देउवा पराजित भएकी थिइन् ।

यस पटक पनि काँग्रेस कैलालीले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ नेतृ आरजूको एकल नाम सिफारिस गरेको भए पनि उनले समानुपातिक रोजेपछि को उम्मेदवार बन्छन् ? भन्ने कौतुहल बढेको थियो ।

उम्मेदवारीको निर्णय गर्ने समयावधि नजिकिँदै गर्दा कैलालीमा काँग्रेसको भाग परेका क्षेत्र ४, ५ र १ मा उम्मेदवारको पनि लगभग टुङ्गो लागेको छ । काँग्रेसबाट कैलाली ४ बाट पार्टीका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर, क्षेत्र ५ बाट प्रदेश सभा सदस्य डिल्लीराज पन्त र क्षेत्र १ बाट केन्द्रीय सदस्य रामजनम चौधरी उम्मेदवार बन्ने लगभग पक्का भएको छ ।

क्षेत्र ५ मा यस पटक काँग्रेस कैलालीले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ नेतृ आरजूको एकल नाम सिफारिस गरेको थियो । तर, उनले समानुपातिक रोजेपछि वर्तमान प्रदेश सभा सदस्य पन्तलाई अगाडी सारिएको छ । उनलाई काँग्रेस कैलालीले पुनः प्रदेश सभा सदस्य (प्रत्यक्ष) मा नै सिफारिस गरेको थियो । तर, उनलाई शिर्ष नेतृत्वले क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने पक्का भएको बताइएको छ । अनुमोदनसंगको टेलिफोन कुराकानीमा स्वयं पन्तले भने– नेतृत्वबाट मलाई क्षेत्र नम्बर ५ बाट चुनाव लड्नका लागि तयार रहन स्पष्ट निर्देशन भइसकेको छ ।

त्यस्तै, क्षेत्र ५ को प्रदेश सभा निर्वाचन क्षेत्र ख मा काँग्रेसबाट प्रकाश देउवालाई उम्मेदवार बनाउने पनि लगभग ट्ङ्गो लागेको बताइएको छ । कैलाली ५ (क) माओवादी केन्द्रको भागमा परेको छ ।

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले टिकट पाउने भएका छन् । उनले डोटीबाट सङ्घीय सांसदको प्रत्यक्षतर्फको उम्मेदवार बन्ने आकांक्षा राखेको भए पनि अब उनी कैलाली ४ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । पाँच दलीय भागबण्डामा डोटी नेकपा (एकीकृत समाजवादी) को भागमा परेको बताइएको छ । यद्दपि, डोटी काँग्रेस गठबन्धनको विपक्षमा रहेको छ ।

सभापति बलायरले आफूलाई पार्टीले क्षेत्र नम्बर ४ मा चुनाव लड्नका लागि तयार रहन भनेको बताए । उनले भने– मैले आफूले चाहेको भन्दा पनि पार्टीले दिएको जिम्मेवारी सिरोधार्य गरेको छु ।

उनले पार्टीले नयाँ क्षेत्रमा पठाए पनि आफ्ना लागि क्षेत्र ४ परिचित रहेको बताए । भने– मैले जीवनको लामो समय यही क्षेत्रमा विताएको छु । यहीँ रहेर पार्टी संगठनको काम गरेको छु ।

कैलाली ४ बाट पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीसहितका नेताहरुको नाम सिफारिस भएको थियो ।
त्यस्तै, कैलाली १ मा काँग्रेसबाट केन्द्रीय सदस्य रामजनम चौधरीको लगभग टुङ्गो लागेको छ । अनुमोदनसंगको टेलिफोन वार्तामा उनले भने– क्षेत्र नम्बर १ मा मलाई टिकट दिनेबारे बालुवाटार “पोजिभिट” छ ।

क्षेत्र १ को प्रदेश सभा ख मा काँग्रेसबाट प्रदेश सरकारका मन्त्री रणबहादुर रावललाई उम्मेदवार बनाउने लगभग ट्ङ्गो लागेको छ । कैलाली १ (क) भने माओवादी केन्द्रको भागमा परेको छ ।

माओवादी केन्द्रको भागमा कैलाली क्षेत्र २ र ३ परेको भए पनि अहिलेसम्म उम्मेदवारको भने टुङ्गो नलागेको केन्द्रीय सदस्य वीरभान चौधरीले बताए । उनले भने– क्षेत्र २ र ३ माओवादी केन्द्रको भागमा परेको छ, उम्मेदवारबारे भने अझैं टुङ्गो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार