६ चैत्र २०८०, मंगलवार

दार्चुलाको महाकाली र नौगाड विपद् सङ्कटग्रस्त क्षेत्र घोषित



धनगढी/ नेपाल सरकारले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकासहितको क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रीपरिषद्को गत ७ गतेको बैठकले महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाई समेटेर विपद् सङ्कटग्रस्त क्षेत्र घोाषणा गर्ने निर्णय गरेको बताइएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिइन् ।

गत भदौ २४ गते शुक्रबार रातीको भारी वर्षा, भीषण बाढी र पहिरोका कारण दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ६ जनाले ज्यान गुमाएका थिए । दश जना वेपत्ता भएका थिए । घटनामा पाँच जना गम्भीर घाइते भएका थिए । दुवै पालिकामा गरी घर पुर्ण रुपमा क्षती भएपछि ४२ परिवार विस्थापित भएका छन् । दुई वटा विद्यालय भवन भत्किएका थिए भने ठुलासाना गरी एक दर्जन बढी सवारी साधन बगेका थिए ।

दार्चुलामा यसअघि २०७० साल असार २ गते महाकाली नदीमा आएको विनासकारी बाढीले दार्चुला सदरमुकाम खलङ्गा तहसनहस भएको थियो । महाकाली नदीको बाढीले सदरमुकाम रहेको महाकाली नगरपालिका–५ बागाबगडको स्वरुप नै परिवर्तन गरिदिएको थियो ।

त्यसवेलाको बाढीले १३ वटा सरकारी कार्यालय भवन, एक सय पाँच पक्की घर, १७ वटा टहरा, चार वटा मन्दिर ध्वस्त भएका थिए । दुई वटा जलविद्युत स्टेशन र झोलुङ्गे पुल बगेका थिए । खलङ्गा–तिङ्कर सडक विभिन्न स्थानमा भत्किएको थियो । बाढीबाट दुई हजार पाँच सय बढी विस्थापित भएका थिए । एक जना वेपत्ता भएका थिए ।

०७० सालको विनासकारी बाढीले महाकाली नगरपालिका–२ र ५ मा अत्यधिक क्षती पुर्याएपछि सरकारले महाकाली नदीमा झण्डै बृहत पक्की तटबन्ध निर्माण गर्नुका साथै क्षती भएको भौतिक संरचनाको पुननिर्माण गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी साउँदले यस पटक भारी वर्षा तथा बाढी र पहिरोका कारण भएको जनधनको क्षतीको प्रारम्भिक विवरण गृह मन्त्रालयमा पठाइसकेको जानकारी दिइन् । अनुमोदन खबरसंग टेलिफोनमा उनले भनिन्– मानवीय र घर क्षतीको विवरण पठाएका छौं । बाढी, पहिरोबाट भएको सबै क्षतीको अझैं पूर्ण विवरण आउन बाँकी छ ।

उनले प्रशासनबाट सरकारसंग अहिले तत्काल राहतका लागि अनुरोध गरिएकोे बताइन् । भनिन्– क्षतीको सबै विवरण आएपछि पुनस्र्थापना र पुननिर्माणको योजना माग तथा कार्यान्वयन प्रक्रिया अघि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार