१३ बैशाख २०८१, बिहीबार

संसदीय समितिद्वारा कैलाली कारागार अनुगमन : कारागारमा क्षमताभन्दा चार गुणाबढी कैदीबन्दी



धनगढी/ प्रतिननिधि सभा, कानुन न्याय तथा मानव अधिकार समितिको एक संसदीय टोलीले आज (आइतबार) कैलाली कारागारको अनुगमन गरेको छ ।

संसदीय टोलीले कारागारको भौतिक अवस्था, कैदीबन्दीहरुको अवस्था, सेवा सुविधा लगायतका विषयमा कारागार प्रशासन तथा कैदीबन्दीहरुसंग छलफल समेत गरेको छ ।

सांसद विमला विश्वकर्माको नेतृत्वमा रहेको संसदीय टोलीमा सांसदहरु लालबहादुर थापा, रविन्द्रराज शर्मा, समिना हुसेन र विष्णु शर्मा रहेका छन् । सो टोलीमा समितिका सचिव लक्ष्मण अर्याल र शाखा अधिकृत नविन भट्टटाई पनि रहेका छन् ।

छलफलका क्रममा कैलाली कारागार नरबहादुर थापाले १५० जना कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ५८७ जना रहेको संसदीय टोलीलाई जानकारी दिए । थापाका अनुसार हाल कैलाली कारागारमा ५४८ जना पुरुष कैदी र थुनुवा तथा ३७ जना महिला कैदी र थुनुवा रहेका छन् । त्यस्तै, तीन जना आश्रित रहेका छन् ।

कैलाली कारागार प्रशासनका अनुसार हाल कारागारमा ४० जना विदेशी कैदीबन्दी रहेका छन् ।

कारागार प्रमुख थापाले कैलाली जिल्ला कारागार सुदूरपश्चिम प्रदेशको रेफरल कारागारको रुपमा राखिएकोले क्षमता भन्दा निकै बढी कैदीबन्दीहरु रहेको बताए । १९९७ सालमा निर्माण भएको कैलाली कारागारका भवनहरु जिर्ण भइसकेको उनले बताए ।

उनले क्षमताभन्दा निकै बढी कैदीबन्दी राख्नुपर्दा भवन, खानेपानी, शौचालय, औषधि आदिको समस्या हुनेगरेको जानकारी दिए । उनका अनुसार कारागारले विद्युत महशुलवापत २२ लाख रुपैयाँ तिर्नुपर्ने र हालसम्म कारागार विभागले चासो नलिएको गुनासो गरे ।

सो अवसरमा संसदीय अनुगमन टोलीका संयोजक सांसद विश्वकर्माले कारागारका समस्या सम्बोधनका लागि नीतिगत सुधार आवश्यक रहेको बताइन् ।

सांसद लालबहादुर थापाले संसदीय समितिले देशका सबै ७७ जिल्ला कारागारको अवस्थाबारे अनुगमन गरिरहेको बताए । उनले ८१ वर्ष पुरानो कारागारको नयाँ भवन बनाउनु पर्ने, खानेपानीको सुविधा हुनुपर्ने, स्वास्थ्यका कर्मचारी थप्नुपर्ने, वालवालिकालाई पढ्ने व्यवस्था गर्नुपर्ने, समयानुकुल सिधाको रकम बढाउनु पर्ने, सीपमुलक तालिम दिन जरुरी भएको बताए ।

कैलाली कारागारमा क्षमताभन्दा निकै बढी कैदीबन्दी राखिएकोले भवनको अभावमा टिनको घर तथा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको छ ।कारागारका चौकीदार मीनबहादुर खड्काका अनुसार बढी कैदीबन्दी भएका कारण एउटै कोठामा २३ जनासम्म राखिएको बताए ।

यसैवीच सो टोलीलाई जिल्ला प्रशासन कार्यालय कैलालीमा स्वागत गरिएको छ । सो अवसरमा संसदीय टोलीले प्रमुख जिल्ला अधिकारी किरण थापासंग पनि कारागारको अवस्थामा सुधार ल्याउने विषयमा छफल भएको थियो । सो भेटघाट सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्टिय अनुसन्धानका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार