२३ बैशाख २०८१, आईतवार

निर्वाचन र दलित सहभागिता सम्बन्धमा अन्तरक्रिया



धनगढी / राष्ट्रिय दलित नेटवर्कले २२ औं स्थापना दिवसको अवसरमा आइतबार धनगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

आगामी निर्वाचन र दलित सहभागिता सम्बन्धमा राजनितीक दलका दलित जनवर्गिय संगठन, संभावित उम्मेदार र दलित अधिकारकर्मीकाबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अथिति माओवादी नेता वसन्त बागचनले पार्टी जुनसुकै भएपनि दलित समुदायको प्रतिनिधित्व हुन आवश्यक भएको बताए । उनले आफ्नो वर्ग समुदायको उत्थानका लागि दलितहरु विभाजित नभएर एकजुट हुन आवश्यक रहेको बताए ।


नेपाल दलित संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष छत्र टेलरले राजनीतिक दलमा पनि जातीय विभेद कायमै रहेकाले निर्वाचनमा दलित सहभागिता हुन नसकेको बताए ।

उनले निर्वाचनमा दलित सहभागिता बढाउनका लागि सम्पूर्ण दलित अधिकारकर्मीहरु एकजुट भएर जानुपर्ने बताए । उनले वर्षौसम्म दलितहरुले अरुलाई नेता बनाउन लागेको बताउँदै अब दलितले पनि आफ्नो वर्ग समुदायबाट नेता बनाएर अधिकार सुनिश्चितताका लागि लड्नुपर्ने बताए ।

नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय कार्यालय सदस्य गोबिन्द विकले नेपालमा संघीयता र समावेशीको अभ्यास भइरहेको सन्दर्भमा अझैपनि दलित आन्दोलनले उठान गरेका सवालहरु संस्थागत हुने काम अझै पनि बाँकी रहेकोले त्यसलाई प्रणालीगत तरिकाले सम्बोधन गर्नका लागि राजनितिक दलहका दलित जनवर्गिय संगठनहरुले सामान बुझाई कायम गर्दै एकिकृत ढंगले आन्दोलन गर्नुपर्ने कुरा जिकीर गरे ।


नेपाल दलित मुक्ति संगठन प्रदेश सचिव चक्र विकले आरडिएनले दलित अग्रजलाई सम्मान गर्ने अभ्यासको थालनी गरेकोले आफूहरुमा आत्मविश्वासको भावना जागृत हुदै आफनो जिम्मेवारी बोध भएको कुरा औल्याए । साथै उनले आगामी प्रदेश र संघीय तहको निर्वाचनमा दलितहरुको सामानुपातिक प्रतिनिधित्वका लागि आफनो पार्टीभित्र व्यापक ढंगले आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।


संघीय दलित मुक्ति प्रान्तीय मंचका केन्द्रीय अध्यक्ष शर्मिला बागचन्दले दलित समुदाय पनि राज्यका उत्पादनशिल शक्ति भएकोले सधैभरी तालि बजाउनका लागि राजनितिमा संग्लन नभएको कुरा जिकीर गरिन ।

उनले नेपालमा विगत ३५०० बर्षदेखि दलितहरु राजनितिक रुपले वहिष्करण, सामाजिकरुपले अपहेलित, आर्थिकरुपले गरिवीको रेखामुनी जीवन बिताउन बाध्य भएकाले त्यसको एकिकृत सामाधानका लागि अबका दिनमा दलितहरु संयुक्त आन्दोलनमा होमिने दिन आएको बताइन । साथै उनले नेपालका ठूला राजनितिक दलहरुले अझै पनि पूर्णरुपले आरक्षणलाई स्विकार गर्न नसक्नु तितो यथार्थ भएकोले आफनो समग्र मुक्तिको लागि दलितहरुलाई संगसंगै आउनका लागि आब्हान गरिन ।


जिल्ला समन्वय समिति कैलालीका निवर्तमान सदस्य मालती सार्की विकले दलित नेतृत्वले आम दलितहरुलाई समेटेर लग्न सकिरहेको अवस्था नभएको, राजनीतिक दलका नेताहरु आमरुपले परिवारवादमा फसेको र निर्णायक तहमा दलित सवाल प्रभावमा पर्न नसकेको गुनासो गरिन ।


गौरीगंगा नगरपालिका कैलालीका पूर्व कार्यपालिका सदस्य एव नेकपा माओवादी केन्द्रकी नेतृ अमृता विकले अहिलेसम्म पनि दलित समुदाय एकता हुन नसकेका कारणले यस कुराले अन्तत गैरदलित समुदायलाई फाइदा पुगेको दावी गरिन ।

दलित अभियान्ता सुमन देवलले आरडिएन नेपालले विगतदेखि हामी दलितहरुका लागि अभिभावकको काम गर्दै नेतृत्व उत्पादनका लागि सहजीकरण गर्दै आईरहेकोले प्रति आभार व्यक्त गरिन ।

माओवादी नेतृ मनमायाँ गहतराजले आरडिएनले आफनो कामलाई अब ग्रामीण स्तरसम्म पुरयाउनका लागि आफना पहल कदमीहरु अगाडि बढाउनुपर्ने कुरामा जोड दिइन । साथै उनले दलित सवाललाई सम्बोधन गर्नका लागि सबै राजनितिक दलहरुमा आबद्ध दलित नेताहरुले एकताबद्ध हुनुपर्ने कुरामा जोड दिइन ।

सो अन्तरक्रिया कार्यक्रममा समता मिडीया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले आधारपत्र प्रस्तुत गरेका थिए । उनले दलित समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति निर्णायक तहमा पुगेपनि दलित समुदायको आवाज बुलन्द गर्न नसकेको गुनासो गरे । उनले दलित समुदायका अगुवा एजजीओकर्मी हुन सकेको तर राजनीतिकर्मी बन्न नसकेको बताए ।

राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यवाहक अध्यक्ष मोहन ओडको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम सार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आगामी निर्वाचनमा बढीभन्दा बढी दलित उम्मेदवार उठाउन आ–आफ्नो क्षेत्रबाट दबाब दिनुपर्ने बताए ।

उनले दलितहरुको अधिकारका लागि पढेलेखेका महिला तथा पुरुषहरुलाई निर्णायक तहमा पुर्याउन सम्पूर्ण दलित अधिकारकर्मी एकजुट हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार