१४ बैशाख २०८१, शुक्रबार

प्रकाशकीय : उतारचढावका अढाई दशक



अनुमोदन खवर डटकमको मातृसंस्था,अनुमोदन दैनिकले आजदेखि प्रकाशनको २४ वर्ष र दैनिक पत्रिकाका रुपमा १४ वर्ष पुरा गरेको छ । सुदूरपश्चिम प्रदेश जस्तो भौगोलिक रुपमा कठिन तथा आर्थिक रुपमा कमजोर क्षेत्रमा निरन्तर यतिका वर्षसम्म दैनिक पत्रिका प्रकाशनलाई निरन्तरता दिनु आफैंमा चुनौतिपूर्ण हो ।

अझ, पछिल्ला केही वर्षदेखि विश्वभरी नै छापा माध्यममाथि चुनौतिहरु थपिने क्रम जारी छ । झन्, अनुमोदन जस्ता साना लगानीका अखबारहरुलाई टिकाउन निकै दुरुह कार्य हो । मोफसलमा प्रायः साना लगानीका अखबारहरु खुल्ने क्रम जारी छ । कैलालीमा मात्रै दुई दर्जन बढी दैनिक अखबारहरु प्रकाशन भइरहेका छन् । अखबारहरुको प्रकाशनकहरुबीच हामीले अनुमोदन पत्रिकालाई दैनिकका रुपमा प्रकाशन गर्न शुरु गरेकै दिन लिखित रुपमा भनेका थियौं– हामी पत्रिकाहरुको भीडको हिस्सा मात्रै बन्न आएका होइनौ ।

त्यतिवेलादेखिको हाम्रो दृढ धारणामा अहिले पनि रत्तीभर विचलन आएको छैन । पत्रकारिताका विश्वव्यापी मुल्यमान्यतामा कत्ति पनि सम्झौता नगरेर स्वतन्त्र प्रेसका आधारभूत मान्यता र सिद्धान्तहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै हामीले पत्रिकार प्रकाशनको यात्रालाई यहाँसम्म ल्याइपुराएका छौं । पत्रपत्रिका, वा आम सञ्चारका माध्यमको मुल्यांकनको सबैभन्दा ठूलो न्यायकर्ता भनेको पाठक, स्रोता वा दर्शक नै हुन् भन्नेमा हामी विश्वस्त छौं । अनुमोदन दैनिकप्रतिको आम पाठकको धारणा, दृष्टिकोण र हेराईमा हामीले आफूले संकोच मान्नु पर्ने कुनै पनि काम गरेका छैनौ भन्ने अनुभूतिले निश्चित रुपमा हामीलाई सन्तोष प्राप्त भएको छ ।

पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण सबै क्षेत्र नराम्ररी प्रभावित बने । विश्वका प्रायः सबै मुलुक आर्थिक र सामाजिक रुपमा प्रभावित बने । यसको प्रभाव मिडियामा पनि पर्नु स्वाभाविक थियो । केही वर्षदेखि संकट झेल्दै आएको छापा माध्यम मिडिया कोरोना महामारीका कारण अस्तव्यस्त हुनपुग्यो । अनुमोदन पनि यसबाट अछुतो रहेन । अहिले कोरोना संक्रमण जारी रहे पनि प्रभावहरु भने कम भएका छन् ।

तर, साना लगानीका अखबारहरुका लागि अहिले पनि अवस्था संकटपूर्ण नै रहेको छ । समस्या अरु पनि छन् । मिडियाको आवरणमा समाचारमा म्यानिपुलेशन गर्नेदेखि व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने प्रवृत्तिहरु झन् मौलाएका छन् । पत्रकार आचारसंहिताको पालना गफको विषय मात्रै हो भन्ने जमातमा कमी आएको छैन । मिडिया कर्म मात्रै गरेर स्वरोजगार बन्न सकिन्छ भन्ने विश्वास गर्नेहरुको संख्या बृद्धि हुनसकेको छैन ।

“समाचार लेख्छु भनेर रकम असुल्ने, समाचार लेखे भनेर रकम लिने, समाचार लेख्दिन भनेर बार्गेनिङ गर्ने” जस्ता विकृत मनोवृत्ति भएकाहरुको संख्या पनि बढ्दै गएको सन्दर्भमा विसुद्ध व्यावसायिक पत्रकारितालाई अँगाल्नेहरुलाई पक्कै पनि अझ बढी चुनौति छ । अनुमोदन दैनिक प्रकाशनको १४ वर्ष पुरा गरिरहँदा हामीले आफ्नो यात्राको एक पटक फेरि आत्मसमिक्षा गर्दैगर्दा आफ्नो कामप्रति गौरवको अनुभव भएको छ र यसका लागि अनुमोदन दैनिकका प्रति आम पाठकको विश्वास, स्नेह र अपनत्वप्रति हामी कृतज्ञ छौं ।

निश्चितरुपमा हाम्रा अगाडि चुनौतिको पहाड छ । अनुमोदन दैनिकलाई सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी पढिने अखबारका रुपमा स्थापित गर्ने हाम्रो अठोट पुरा गर्न निकै बाधाहरु पार गर्नुपर्ने चुनौति छन् । तर, हामी सुदूरपश्चिमेली जनताको विश्वास, स्नेह र अपनत्वका कारण अनुमोदन दैनिकको यात्रा जस्तोसुकै चुनौति र कठिनाई आइलागे पनि अविराम गतिमा अघि बढ्छौ भन्नेमा दृढ छौं ।

हाम्रो यो अठोटमा अहिलेसम्म हामीलाई साथ सहयोग र समर्थन गर्नुभएका प्रवुद्ध पाठक, विज्ञापनदाता, लेखक, विश्लेषक तथा टिप्पणीकारहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौ । हामी फेरि एक पटक भन्छौं– यो तपाईहरुको आफ्नो पत्रिका हो र यसको दीर्घजीवनका लागि तपाईंहरुको साथ र सहयोगको हामीलाई सधैं खाचो छ । अनुमोदन जनताको आवाज हो, सम्पत्ति हो । यसले पत्रकारिताका विश्वव्यापी मूल्यमान्यता र सिद्धान्तको दृढतापूर्वक पालना गर्दै हामी सधैं जनताको आवाजका रुपमा अनुमोदनलाई निरन्तरता दिन दृढसंकल्पित छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार