४ बैशाख २०८१, मंगलवार

टीकापुर नगरपालिकाले शुरु गर्यो, योजना कार्यान्वयन प्रक्रिया



टीकापुर / कैलालीको टीकापुर नगरपालिकाले आगामी भदौ महिनादेखि नै विकास निर्माण योजना कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको छ ।

चालू आर्थिक वर्ष २०७९/०८० का लागि नगरसभाबाट पारित विकास निर्माण योजना र कार्यक्रमहरू समयमै कार्यान्वयन गर्ने लक्ष्यसहित नगरपालिकाले प्रक्रिया अघि बढाएको बताएको छ ।

नगरपालिकाले हरेक वडामा उपभोक्ता समिति गठन प्रक्रिया अघि बढाएको छ । वडा नम्बर २ कार्यालयका अनुसार उपभोक्ता समिति गठनका लागि सूचना प्रकाशित गरिएको छ । वडा कार्यालयले वडाका १४ टोलमा उपभोक्ता समिति गठनका लागि सूचना प्रकाशित गरेको वडाध्यक्ष दीपक चौधरीले जानकारी दिए ।

उनले भने– भदौ १ गतेदेखि ७ गतेसम्म उपभोक्ता समितिहरू गठन गरिसक्ने गरी काम अघि बढाएका छौं । र १५ गतेभित्र उपभोक्ता समिति गठन प्रक्रिया पूरा गर्ने लक्ष्यमा छौं ।

त्यस्तै, नगरपालिकाका अन्य वडाहरूमा समेत उपभोक्ता समिति गठन प्रक्रिया अघि बढाइएको छ । वडा नम्बर ७ कार्यालयले भदौ ४ गतेदेखि उपभोक्ता समिति गठनका लागि प्रक्रिया अघि बढाइने जनाएको छ । वडा ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने वडामा ७ टोलमा उपभोक्ता समिति गठन गरिने बताए ।

उनले भने– वडामा साना विकास योजनाहरू सबै उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने निर्णय गरेका छौं । त्यसैले हरेक टोलमा भेला गरेर उपभोक्ता समिति गठन प्रक्रिया अघि बढाउदै छौं ।

वडा नम्बर १ कार्यालयले भने चालू आर्थिक वर्षमा प्रायः ठेक्कापट्टाबाट विकास निर्माण याृजनाहरू सञ्चालन गर्ने नीति लिएको छ । वडा १ का अध्यक्ष मोहन विकले भने– सडक कालोपत्रे, भवन जस्ता ठूलो लागतका योजनाहरू ठेक्कामार्फत सञ्चालन गर्ने निर्णय गरेका छौं ।

टीकापुर नगरपालिकाले आगामी भदौ महिनाभित्र सबै वडामा उपभोक्ता समिति गठन प्रक्रिया पूरा गरेर लागत अनुमान, इस्टिमेट, सम्झौतालगायतका कार्य पूरा गरिने जनाएको छ । वडाध्यक्ष विकले भने– हामीले सकेसम्म मंसिर महिनाभित्र योजनाहरू पूरा गर्ने लक्ष्य लिएका छौं ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले समयमै विकास निर्माण योजना तथा कार्यक्रमहरू पूरा गर्दा आर्थिक वर्षको अन्त्यमा कार्यभार कम हुने बताए ।

उनका अनुसार टीकापुर नगरपालिकामा चालू आर्थिक वर्षमा पूर्वाधारतर्फ एक सय ८५ योजना पारित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार