१५ बैशाख २०८१, शनिबार

बनहरा नदीबाट सताइएका भूमिहीन सुकम्बासी



धनगढी / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ को बनहरा सिगास टोल । नजिकै बनहरा नदी बगिरहेको छ ।

बनहरा सिगास टोलमा अधिकांस भूमिहीन सुकुम्बासीको बसोबास छ । वर्षायामभरी बनहरा नदीमा बाढी आउन थालेपछि यता टोलबासीको सातो जाने गर्छ ।

बनहरा सिगास टोलमा भूमिहीन सुकुम्बासीका २७ घरधुरी छन् । २०६२ सालमा बाढी, पहिरोका कारण विस्थापित भएपछि डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडीबाट आएका बनहरा सिगास टोलबासीहरुको हरेक वर्षायाम त्रासमा वित्ने गरेको छ ।

वस्तीका दलबहादुर बोहराले भने– नदीमा बाढी आउन थालेपछि त्रास बढ्छ । कतिखेर नदी टोलमा पसेर बगाउने हो भन्ने चिन्ताले सताउने गर्छ ।

उनीहरु बनहरामा बाढी आएपछि घर छोडेर अग्लो स्थानमा जाने गर्छन् । बनहरा सिगास टोलमा फुसको छाना भएका झोपडीहरु मात्रै छन् । वर्षायाममा छाना चुहेर हैरान पार्छ । साँपकिराको उत्तिकै डर छ । उनीहरु भन्छन्– न रोजगारी छ, न बस्ने सुरक्षित बास ।

उनीहरु नेपाल रेडक्रस, याक नेपाल, निड्स, युनिक नेपाल लगायतका संस्थाले कहिलेकाही बाँड्ने राहत सामग्रीको भरमा गुजारा गर्दे आएका छन् । दलबहादुरले भने– केही संस्थाहरुले दिएको राहत सामग्रीले गुजारा चलाउनु पर्ने बाध्यता छ ।

बनहरा सिगास वस्तीका बासिन्दाले २०७१ सालमा आवास, खाद्य अधिकार, शिक्षा, रोजगारीको अधिकारको सुनिश्तिताका लागि सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको बताए । “तर, कहीकैबाट कुनै सुनुवाई भएन” उनीहरु भन्छन् ।

बनहरा नदीले हरेक वर्षायाममा कटान बढाइरहेको छ । नदीको बाढी रोक्न तटबन्ध छैन । जंगलको बीचमा भएकोले हात्ती, बाघको डर पनि उत्तिकै छ ।

६९ वर्षीया मथुरादेवी सार्कीले भनिन्– सरकारले नदीमा तटबन्धन गरिदिएको भए यति चिन्ता त हुने थिएन । अहिले त पानी पर्न थालेपछि रातभरी नदी हेरेर जाग्राम बस्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार