११ बैशाख २०८१, मंगलवार

छाडा पशुचौपाया व्यवस्थापनका लागि पहल



फाइल तस्बिर

धनगढी / कैलाली र कञ्चनपुरमा रहेका छाडा चौपाया व्यवस्थापनका लागि भक्त बिबि फर ह्युमानिटी नामक संस्थाले पहल थालेको छ । सो सामाजिक संस्थाले छाडारुपमा छोडिएका पशुचौपायाको व्यवस्थापनका लागि पहल अघि बढाएको जनाएको छ ।

सो संस्थाले स्थानीय तहहरुसंगको सहकार्यमा छाडा पशुचौपाया संरक्षणका लागि गौशाला निर्माण कार्य अघि बढाइने जनाएको छ । संस्थाका सहसंयोजक राजबहादुर चन्दले देशभरी १४ स्थानमा गौशाला स्थापना गरेर गाईगोरुको संरक्षण गर्दै आएका योगी पीताम्बरको संरक्षण तथा सल्लाहमा कञ्चनपुरको बसाह गौ सेवा आश्रमसँगको सहकार्यमा महेन्द्रनगरदेखि कैलालीको लम्कीसम्म गाईगोरुको व्यवस्थापन गरिने बताए ।

यसैबीच, कञ्चनपुरको बेदकोट नगरपालिकास्थित बैतडा सामुदायिक बनका अध्यक्ष तोयाराज अवस्थीले गाईगोरुको चरनका लागि सामुदायिक बन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन् । त्यस्तै स्थानीय बालज्योति माविका पूर्व अध्यक्ष सूर्य भण्डारीले गौशाला खोल्न १२ बिघा जमिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

स्थानीय मञ्जु सिंहले पाँच सय जना महिलाहरुको समूह संस्थासंग मिलेर काम गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार