६ चैत्र २०८०, मंगलवार

नगर सभामा हंगामा





धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको वार्षिक कार्यक्रममाथिको छलफलका क्रममा सोमबार नगर सभाका चर्काचर्की, होहल्ला तथा विवादबीच बजेट पारित भएको छ ।

नगर उपप्रमुख कन्दकला रानाले संविधान तथा कानुनतः आफू बजेट र योजनाको संयोजक भए पनि कुनै सल्लाह र छलफल नै नगरी नगर प्रमुखले एकलौटी रुपमा बजेटको रातो किताब (कार्यक्रम पुस्तिका) नगर सभामा ल्याएको, आफूमाथि विभेद गरिएको, असहयोग गरिएको भन्दै आक्रोशित हुदै धारणा व्यक्त गरेपछि बैठक असमान्य बनेको थियो ।

नगर सभामा बजेट, नीति तथा कार्यक्रममा सबै सदस्यहरुको एकमत नै हुनुपर्छ भन्ने छैन । नगर सभाका प्रत्येक सदस्यले आफ्नो स्वविवेक अनुसार बजेट तथा नीति र कार्यक्रमबारे आफ्नो दृष्टिकोण तथा धारणा राख्न पाउछन् । प्रत्येक जनप्रतिनिधि जनताबाट निर्वाचित हो । पदका दृष्टिकोणबाट अधिकार र दायित्व फरक फरक हुन्छ नै, तर सबै जनताप्रति जवाफदेही छन् । यसको सिधा अर्थ भनेको प्रत्येक जनप्रतिनिधिले आफ्नो क्षेत्र र नागरिकको अधिकतम हितका लागि आफ्नो सम्पूर्ण क्षमताका साथ प्रस्तुत हुनु नै हो ।

धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको सोमबारको बैठकमा जेजसरी जनप्रतिनिधिहरु प्रस्तुत भए त्यसलाई उचित मान्न सकिदैन । प्रत्यक्ष प्रसारण भइरहेको नगर सभामा चर्को होहल्ला, कुर्सी हानाहान, एकअर्काप्रति कटाक्ष र आरोपप्रत्यारोपका दृश्यहरु आम नगरबासीले अवलोकन गरिरहदा निश्चित रुपमा सभा तथा जनप्रतिनिधिहरुको मर्यादा बढेको मान्न सकिदैन ।

संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका जनप्रतिनिधिहरुको कामकर्तव्य र अधिकारको स्पष्ट रुपमा व्यवस्था र परिभाषा गरेको छ । प्रत्येक जनप्रतिनिधिले आफ्नो अधिकार र दायित्व मर्यादित भएर निर्वाह गर्नुपर्छ भन्नेमा बहस जरुरी हुदैन । त्यसैमा नगर/ गाउँ सभा स्थानीय तहको संसद हो र संसद भनेको जनताको सार्वभौमिकता प्रयोग गर्ने सर्वोच्च थलो हो । त्यसैले पनि नगर/ गाउँ सभा मर्यादित हुनु पर्दछ ।

यी सभामा जनताका आवश्यकता, आकांक्षा र चाहनाको जनप्रतिनिधिमार्फत प्रस्तुत हुनुपर्दछ । कुनै पनि तहका सरकारका नीति र कार्यक्रम तथा बजेट जनताको सर्वाधिक चासो र सरोकारको विषय हुन् । त्यसैले यी दस्तावेजहरुमा घनिभूत छलफल हुनु जरुरी हुन्छ । धनगढी उपमहानगरपालिकाको बजेट प्रस्तुत भएको दश दिन भइसकेको छ । तर, बजेटमाथिको छलफलका लागि खासै समय खर्च गरिएको देखिएन । त्यसैको परिणति सोमबार नगर सभाका देखिएका अमर्यादित अभ्यास र व्यवहारहरु हुन् भन्नेमा विमति रहदैन ।

बहुमतका आधारमा धनगढी उपमहानगरपालिकाको वार्षिक बजेट पारित भएको छ । नगर सभामा विभिन्न दलको उपस्थितिको संख्याका दृष्टिकोणले बहुमतका आधारमा यो पारित त भएको छ, तर कार्यान्वयनका क्रममा आगामी दिनमा कठिनाई र अवरोध सिर्जना हुने सहजै अनुमान गर्न सकिन्छ । त्यसैले पनि बहुमत र अल्पमतलाई मात्रै आधार बनाएर अघि बढ्ने भन्दा पनि सबैबीच समन्वय, विश्वास र सहकार्यको संस्कृतिका आधारमा काम गरियो भने मात्रै अगाडीका दिनहरु सहज र फलदायी हुनेछन् भन्ने आत्मबोध गर्नु उचित हुने छ । सोमबार धनगढी नगरसभामा जेजस्ता दृश्यहरु देखिए, ती आगामी दिनमा दोहारिन नदिन र कम्तिमा सभामा मर्यादित र संयमित रुपमा प्रस्तुत हुनेतर्फ सजग र गम्भीर हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार