१८ आश्विन २०८३, आइतबार

कांग्रेस महाधिवेशनले खोजोस, लोकतन्त्रको नयाँ बाटो




लोकतन्त्र केवल निर्वाचनमा मत हाल्ने प्रक्रिया होइन, यो नागरिकको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, जवाफदेहिता र जनताको सम्मानसँग जोडिएको शासन पद्धति हो। लोकतान्त्रिक निर्वाचन हुँदैमा लोकतन्त्र बलियो भएको मान्न सकिँदैन। पछिल्लो समय देशको राजनीतिक वातावरण हेर्दा लोकतन्त्रका संस्थागत मूल्य र मान्यता कमजोर हुँदै गएको अनुभूति आम नागरिकमा बढ्दै गएको छ। यस्तो अवस्थामा देशकै पुरानो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसको महाधिवेशनप्रति स्वाभाविक रूपमा ठूलो अपेक्षा राखिएको छ।

नेपाली कांग्रेसको महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने औपचारिक राजनीतिक कार्यक्रम बन्नु हुँदैन। यसले कांग्रेसलाई आन्तरिक रूपमा एकताबद्ध बनाउने मात्र होइन, मुलुकलाई वर्तमान राजनीतिक अन्योलबाट सही दिशातर्फ लैजाने स्पष्ट नीति, कार्यक्रम र दृष्टिकोणसमेत दिन सक्नुपर्छ।

कांग्रेसको इतिहास लोकतान्त्रिक संघर्षसँग जोडिएको छ। त्यसैले आज लोकतन्त्रप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको अवस्थामा कांग्रेसले आफ्नो ऐतिहासिक विरासतको समीक्षा गर्न आवश्यक छ। लोकतन्त्रका नाममा हुने सत्ता केन्द्रित राजनीति, भागबन्डा, संस्थागत कमजोरी, भ्रष्टाचार र राजनीतिक संरक्षणवादप्रति कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्छ।

महाधिवेशनले पार्टीभित्रको गुटगत प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै विचार र नीतिको प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्छ। नेतृत्व परिवर्तन वा पुनरावृत्ति आफैंमा पर्याप्त हुँदैन। कांग्रेसले आगामी पुस्ताका आकांक्षा, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन, उत्पादन, प्रविधि, उद्यमशीलता र सामाजिक न्यायलाई केन्द्रमा राखेर नयाँ राजनीतिक कार्यक्रम तय गर्नुपर्छ।

अहिले नेपाली समाजमा एउटा गम्भीर प्रश्न छ—राजनीतिक दलहरू जनताका लागि हुन् कि दलहरूकै राजनीतिक अस्तित्वका लागि जनता हुन्रु कांग्रेस महाधिवेशनले यसको व्यवहारिक उत्तर दिन सक्नुपर्छ। जनतामा बढिरहेको निराशा र राजनीतिक वितृष्णालाई केवल भाषणले होइन, नीति र व्यवहारबाट सम्बोधन गर्नुपर्छ।
लोकतन्त्रको रक्षा अरूलाई दोष दिएर मात्र सम्भव हुँदैन। आफ्नै पार्टीभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता, जवाफदेहिता र नेतृत्व हस्तान्तरणको संस्कार बलियो बनाउनुपर्छ। कांग्रेसले यही अभ्यासबाट राष्ट्रिय राजनीतिमा उदाहरण प्रस्तुत गर्न सक्छ।

त्यसैले कांग्रेसको आगामी महाधिवेशन नेतृत्व चयनको एउटा अधिवेशन मात्र नबनोस्। यसले कांग्रेसलाई एकताबद्ध, जिम्मेवार र जनमुखी बनाउने संकल्पसँगै देशको लोकतान्त्रिक भविष्यका लागि स्पष्ट मार्गचित्र पारित गरोस्। देशले पुरानो राजनीतिक शक्ति भएको कांग्रेसबाट केवल विगतको गौरव होइन, भविष्यको स्पष्ट दिशा खोजिरहेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार