३ जेष्ठ २०८१, बिहीबार

अव कुनै पनि पार्टीसंग एकता हुँदैन : थापा



धनगढी / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसंग एकता नहुने बताएका छन ।

राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसंग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसंग पार्टी एकता नहुने बताएका हुन ।

शनिबार पार्टीको आयोजनामा धनगढीमा भएको जनताका माझमा राप्रपा नेपाल वर्तमानका चुनौति र विकल्प वृहत अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रुपमा स्थापना भएको बताए ।

उनले पार्टीभित्रको गलत वैचारिक प्रवृति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए ।

उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने दाबी गरे । ‘हिन्दु धर्मको संस्थागत विकास गर्ने लक्ष्य सहित स्थापना भएको यस पार्टीप्रति जनताले ठुलो विश्वास लिएको छ । अब हुने निर्वाचनबाट यो राष्ट्रिय पार्टी बन्छ’ उनले भने –‘चुनावमा आवश्यकता अनुसार केही स्थानमा अन्य राजनीतिक दलसंग तालमेल हुन सक्छ ।’

थापाले संघियतालाई संस्थागत गर्न संघिय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने सुझाव दिए । ‘अहिले संघिय स्वरुपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’ उनले भने ‘संघिय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघियतालाई थप संस्थागत हुन्छ ।’ उनले व्यक्तिको इमान्दारिता र लगनशिलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताए ।

नेता थापाले कम्यूनिष्ट तथा अन्य ठुला दलहरुमा वैचारिक विचलन देखा परेको बताए । ‘साम्यवाद, समाजवाद र पुँजिवाद दर्शन हावी हुँदा ठुला दलहरुको विचारमा विचलन आएको छ’ उनले भने –‘साम्यवाद, समाजवाद, पुँजिवादको विकल्पमा सम्बर्दनबाद दर्शनलाई पार्टीले अघि बढाउने छ ।’

उनले सम्र्वदनबाद भनेको सनातन धर्मको रक्षा र परम्परागत संस्कारलाई अंगाल्दै अघि बढ्ने दर्शन रहेको बताए । उनले भने –‘परम्परागत सनातन धर्मको रक्षा गरेर पनि देशको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।’

उनले व्यापारी, राजनीतिक दल र कर्मचारीको त्रिकोणात्मक गठबन्धनले देशमा भ्रष्टाचारको जडो बनिरहेको बताए । थापाले सबैभन्दा बढी धर्म परिवर्तन हुने राष्ट्रमा नेपाल पहिलो बन्दै गइरहेको बताए । ‘धर्म निरपक्षेताका कारण देशमा धर्म परिवर्तन गराउने प्रवृति बढीरहेको छ ।

जनगणना सहि तरिकाले हुने हो भने अब हिन्दु पछिको दोस्रो ठुलो इसाई धर्मका व्यक्ति पाईनेछन’ उनले भने –‘अब बौद्ध धर्मावलम्बीको जनसंख्या भन्दा इसाई धर्मावलम्बी राष्ट्रमा बढी हुने छन । ’ उनले आफु कुनै पनि धर्मावलम्वीको विरोधी नरहेको तर, प्रलोभन देखाई धर्म परिवर्तन गराउने प्रवृति रोक्न सरकारले ध्यान नदिएको बताए ।

उनले भने –‘यहि प्रवृति हुने हो भने धार्मिक सांस्कृतिक द्वन्द्व बढ्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार