१४ बैशाख २०८१, शुक्रबार

लैङ्गिक अल्पसंख्यकलाई घरेलु आगलागी नियन्त्रण तालिम




धनगढी / धनगढी उपमहानगरपालिकाले लैङ्गिक अल्पसंख्यकका लागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ।

युरोपियन यूनियन(इयू) को आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भूकम्प पूर्वतयारी परियोजनाको सहकार्यमा उक्त तालिम धनगढीमा आयोजना गरिएको हो।

बढ्दो शहरीकरणले आगलागीको जोखिम उच्च रहेको छ। धनगढी जस्ता प्रमुख शहरमा जनसंख्याको उच्च चाप, प्राविधिक सहायता बिना बनाइएको पुराना घरहरूको वायरिङ्, अव्यवस्थित ग्याँसको प्रयोग र जनचेतनाको कमिमा गरिने लापरवाहिका कारण यो समस्याले विकराल रूप लिँदै गएको छ।

अझ लैङ्गिक अल्पसंख्यक समुदायहरू परिवारबाट टाढा रहने, एकै ठाँउमा धेरै जना बस्ने र शिक्षाको कमीले आगलागीका घटना बढेका छन् ।

विविध कारणले यो समुदाय अझ बढी संकटासन्न भएको सुदूरपश्चिम समाजका निरङ्ग चौधरीले बताए।

यस्ता तालिमहरू यो समुदायलाई पहिलो पटक प्रदान गरिएको र यो तालिमले समाजका सम्पूर्ण साथीहरूलाई जिवन रक्षाका लागी उपयोगी सीप दिएको उनको भनाइ छ।

साथै यो सीप उनीहरूले आफू निकटका साथीहरूमा पनि पुर्याउन प्रयास गर्ने भन्दै सुपर परियोजनाकोसँग नियमित सहकार्यको अपेक्षा राख्दै परियोजनालाई धन्यवाद दिए।

धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो। यस उपमहानगरपालिकामा प्रदेश भरिकै लैङ्गिक अल्पसंख्यकहरूको अरु शहरको तुलनामा बढी बसोबास रहेको छ।

प्राइड मन्थको समयमा सुदूरपश्चिम समाजको समन्वयमा उक्त तालिम गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार