१० श्रावण २०८१, बिहीबार

मुक्त हलियाको पुर्नस्थापना कार्यमा सरकारहरूबीच समन्वय भएन– मुख्यमन्त्री भट्ट




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलिया पुर्नस्थापनासहित सबै समस्या समाधानमा अहिलेसम्म सङ्घ र प्रदेश सरकारबीच समन्वय र सहकार्य हुननसकेको बताएका छन् ।

मुख्यमन्त्री भट्टले डेढ दशक अघि सरकारले हलिया प्रथा निषेध गरेकोमा अहिलेसम्म पुर्नस्थापनासहित बसै काममा सङ्घीय सरकारले मात्रै भूमिका निर्वाह गरिराखेको र प्रदेश सरकारलाई साझेदार नबनाएको बताए ।

“अब निश्चित समयावधिभित्र मुक्त हलियाको पूर्ण पुर्नस्थापनासहित सबै सवालको दीर्घकालीन सम्बोधन हुनेगरी काम गर्नु पर्दछ” बिहीबार धनगढीमा राष्ट्रिय मुक्त हलिया महासङ्घको छैठौं महाधिवेशनको उद्घाटन गर्दै उनले भने– यसका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी छ ।

उनले अहिले पनि कतिपय निकाय र संस्था मुक्त हलियाको सवाललाई लम्ब्याउने प्रयासमा रहेको चर्चा गरे । भने– आ-आफ्नो स्वार्थका कारण अहिले पनि कतिपय पक्ष मुक्त हलियाको पुर्नस्थापनासहित सबै समस्याको दीर्घकालीन समाधान हुननसकोस् भनेर लागेका छन् ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकारको यस वर्षको नीति तथा कार्यक्रममा मुक्त हलियाको बसोबास, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ठोस कार्यक्रमहरू समावेश गरिएको दाबी गरे । उनले भने– हामी यी कार्यक्रमहरू कार्यान्वयनका लागि बजेटमा पनि आवश्यक रकमको व्यवस्था गर्छौ ।

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले मुक्त हलियाका सवालमा आआफ्नो निहीत स्वार्थ पुरा गर्न गलत तत्वहरू प्रयासरत रहेको बताए । उनले भने– यो हामी सबैको सवाल हो । त्यसैले यसको दीर्घकालीन समाधान जरुरी भइसकेको छ ।

संविधान सभा सदस्य तथा मुक्त हलियाको क्षेत्रमा लामो समयदेखि कार्यरत हरि श्रीपाइलीले हलियाको सवाल सामाजिक न्याय र मानवअधिकारको विषय भएकोले यसप्रति सरकारले गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रम महासङ्घका अध्यक्ष ईश्वर सुनारको अध्यक्षमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार