गाउँपालिका अध्यक्षलाई काम गर्नबाट रोक लगाउने मागसहित मुद्दा दायर

धनगढी / भ्रष्टाचार मुद्दामा आरोपित कैलालीको मोहन्याल गाउँपालिकाका निर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायलाई काम गर्नबाट रोक लगाउन मागसहित अदालतमा मुद्दा दायर भएको छ ।
उनलाई जिल्ला समन्वय समिति निर्वाचनमा सहभागी हुन तथा अध्यक्षको हैसियतमा कुनै कामकाज गर्नबाट रोक लगाउने मागसहित अधिवक्ता बसन्त जैशीले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
२०७४ सालमा मोहन्याल गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष निर्वाचित उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बैशाख २ गते विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको वेला गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उपाध्याय मोहन्याल गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका थिए ।
उपाध्याय अध्यक्षमा निर्वाचिन भएपछि अख्तियार दुरुपयोग आयोगले गत मङ्गलबार “अध्यक्ष पदमा निर्वाचित देवीदत्त विरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न, गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्वन्धित स्थानीय तहमा पत्राचार गरिसकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भनेको छ– मोहन्याल गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष उपाध्यायले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेकोमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबी लिई आयोगबाट गत बैशाख २ गते विशेष अदालतमा आरोपपत्र दायर भइ मुद्दा विचाराधीन रहेको छ ।
आयोगको पत्रमा भ्रष्टाचार कसुरको आरोपको लागेको कुनै व्यक्ति/राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था अनुसार हाल मोहन्याल गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित देवीदत्त विरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्वन्धित स्थानीय तहमा लेखी पठाइएको छ ।
अध्यक्ष पदमा निर्वाचित भएपछि कानूनी अन्योलका कारण केही दिन उनको सपथ ग्रहण कार्यक्रम रोकिएको थियो । तर, उनलाई सपथ ग्रहण नगराउँदा उपाध्यक्षसहित अन्य निर्वाचित जनप्रतिनिधिको सपथ रोकिने भएकाले निर्वाचन आयोगले सपथ ग्रहण गराएको थियो ।





