कहिल्यै समाधान नहुने विद्युत आपूर्तिको अनियमिता ?

गर्मीयाम शुरु भएदेखि नै धनगढीसहित कैलालीमा उपभोक्ताहरुले विद्युत आपूर्तिमा हुने गडबडीको समस्या भोग्नु परिराखेको छ । छिनछिनमा विद्युत आपूर्ति बन्द हुने, कहिलेकाही लामो समयसम्म विद्युत नआउने, कम भोल्टेज आउने लगायतका समस्याका कारण उपभोक्ताहरु हैरान हुदै आएका छन् ।
चर्को विद्युत महसुल बुझाउनु पर्ने र समयमा नबुझाए चर्को जरिवाना तिर्दै आएका उपभोक्ताहरुले विद्युत आपूर्तिमा हुने गरेको अनियमिताबाट बेहोर्नुपर्ने हैरानी समेत बेहोर्नु परेको छ । विद्युत आपूर्ति नियमित गर्न उपभोक्ताहरुले बारम्बार विद्युत प्राधिकरणलाई आग्रह गर्दै आएका छन् । कतिपय सन्दर्भमा विद्युत प्राधिकरणको कार्यालय घेराउ, धर्ना, प्रशासनलाई ज्ञापन लगायतका विरोधका कार्यक्रमसमेत गर्दै आएका छन् । तर, हरेक वर्ष गर्मीयाममा उपभोक्ताहरुले यी समस्या कम भएको महसुस गर्न सकिरहेका छैनन् ।
विद्युत प्राधिकरणसंग जहिले पनि रेडिमेड उत्तर तयार हुन्छ– गर्मीयाममा विद्युत खपत ह्वात्तै बढ्छ, त्यसैले विद्युत आपूर्तिमा लोड बढ्छ र विद्युत आपूर्तिमा समस्या हुन्छ । प्राधिकरणका अधिकारीहरुको यो उत्तर धेरै पटक सुनेका उपभोक्ताहरुको सवाल हुने गरेको छ– विद्युत आपूर्ति किन अनियमित हुन्छ ? भन्ने प्राविधिक कारण होइन, जसरी पनि नियमित हुनुपर्दछ ।
निश्चय पनि हरेक महिना विद्युत उपभोक्ताहरुको संख्यामा बृद्धि हुन्छ । विद्युत प्राधिकरणको आपूर्ति क्षमता कम होला । तर, यसको अर्थ सधैं यही बहाना बनाएर उपभोक्ताहरुलाई ठग्न पाइदैन ।
गर्मीयाममा विद्युत आपूर्तिमा बृद्धि हुन्छ भन्ने थाहा हुदाहुदै यसको समाधानका लागि समयमै उपाय खोज्न कसले रोकेको छ ? विद्युत आपूर्तिका लागि आवश्यक पर्ने ट्रान्सफर्मर लगायतका उपकरणको प्रबन्ध गर्न कसले रोकेको छ ? विद्युत उपभोग गरेवापत उपभोक्ताले चर्को महसुल बुझाउनुपर्छ, प्राधिकरणले सित्तैमा विद्युत आपूर्ति गर्ने होइन । निश्चित समयभित्र महसुस नबुझाउदा चर्को जरिवाना गर्नेदेखि विद्युत लाइन काट्ने प्राधिकरणले कुनै पनि बहानामा आपूर्तिलाई नियमित बनाउने कार्यबाट बिमुख हुन पाउदैन ।
प्राधिकरणले विद्युत आपूर्ति क्षमता कम भएर लोडसेडिङ गर्ने हो भने त्यसको पूर्व जानकारी दिनु पर्छ । तर, अहिलेसम्म धनगढी सहित कैलालीका उपभोक्ताहरुलाई यसबारे कुनै जानकारी गरिएको थाहा हुनसकेको छैन । यसको सोझो अर्थ के हो भने प्राधिकरणले विद्युत आपूर्तिमा हुनेगरेको अनियमितालाई सामान्य रुपमा लिने गरेको छ ।
कुनै पनि मौसममा विद्युत आपूर्तिमा अनियमिता हुनुहुदैन । महसुल तिरिसकेपछि सहजरुपमा र नियमित रुपमा विद्युत आपूर्ति पाउने उपभोक्ताको अधिकार हो । यो अधिकार प्राप्त गर्नका लागि उपभोक्ताले सधैं घेराउ, धर्ना, विरोध प्रदर्शन, ज्ञापन लगायतका काम गर्नै पर्छ भनियो भने दुर्भाग्य मात्रै हुने छ ।
धेरै विद्युत खपत गर्ने उद्योग, व्यापारिक प्रतिष्ठान अथवा जोकोही हुन् अथवा थोरै विद्युत उपभोग गर्ने साधारण उपभोक्ता हुन्, सबैको अधिकार बराबर हो भन्ने प्राधिकरणका अधिकारीहरुले मनन् गर्नुपर्दछ । धनगढी लगायत कैलालीमा हरेक वर्ष गर्मीयाममा हुने गरेको विद्युत आपूर्तिमा अनियमिता दोहोरिनु हुदैन ।
प्राधिकरणको कमजोरीका कारण उपभोक्ताहरुले अनाहकमा सास्ती भोग्नु परिराख्यो भने त्यसले सिर्जना गर्ने आक्रोसले अर्को विपत्ति मात्रै सिर्जना गर्नसक्छ भन्नेतर्फ सम्वद्ध निकाय वेलैमा सचेत हुनु जरुरी छ ।




