२ जेष्ठ २०८१, बुधबार

भारतीय सुरक्षा बलद्वारा नेपाली किसानलाई अवरोध




धनगढी/ कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबी) ले नेपाली किसानहरूलाई खनजोत गर्न अवरोध गरेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–१०, सडकघाट गाउमा नेपाली किसानहरूलाई जमिन खनजोत गर्न भारतीय सुरक्षाकर्मीले अवरोध गरेको बताइएको छ ।

आफ्नो नाममा दर्तावाल जमिनमा खेतीपातीका लागि खनजोत गर्न गएका नेपाली किसानहरूलाई भारतीय सुरक्षाकर्मीले डरत्रास देखाउदै धम्की दिएको बेलौरी नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष सोमलाल चौधरीले जानकारी दिए ।

बुधबार ट्याक्टर लिएर खेत जोत्न पुगेका बेलौरी नगरपालिका वडा नम्बर–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को एक टोलीले खेतमै आएर जोत्न नदिई त्यहाँबाट फर्काइदिएको छ ।

भारतीय सुरक्षाकर्मीहरूले नेपाली किसानहरूलाई बेला–बेलामा डरत्रास देखाउने गरेको स्थानीयको भनाइ छ । भारतीयले गुगलमा नक्सा हेरी यो जमिन त भारतमा पर्छ भनेर अवरोध सिर्जना गर्ने गरेको त्यहाँका किसानहरूको भनाइ छ ।

भारतीय सुरक्षाकर्मीले भारतमा पर्ने भन्दै दाबी गर्ने गरेको उक्त जमिनको लालपुर्जा आफूसँग रहेको र दशकौंदेखि आफैले करसमेत तिर्दै आएको हुँदा नेपाली लालपुर्जा भएको जमिन भारतमा कसरी पर्यो भन्दै जग्गाधनी नेपाली किसानहरूले प्रश्न गर्ने गरेको वडाध्यक्ष चौधरीले बताएका छन् ।

कञ्चनपुरका पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र दोधाराचाँदनीका विभिन्न भूभागमा भारतीय पक्षले दशकौँदेखि नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार