२ जेष्ठ २०८१, बुधबार

हतकडीसहित कैलालीबाट थुनुवा फरार



धनगढी । लागुऔषध मुद्धामा पक्राउ परेका एक जना कैदी हतकडीसहित फरार भएका छन् ।

कैलालीको ईलाका प्रहरी कार्यालय सुखडमा लागुऔषध मुद्धामा थुनुवामा रहेका घोडाघोडी नगरपालिका–२, साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् ।

जेठ १८ गते स्वास्थ्य जाँचका लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा त्यहाँबाट फर्कने क्रममा पाण्डे फरार भएको प्रहरीले जनाएको छ । घोडाघोडी नगरपालिका–२, साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषध मुद्धामा जेठ १४ गते पक्राउ गरी थुनामा राखिएको थियो ।

दुबैजनालाई स्वास्थ्य जाँचका लागि घोडाघोडी अस्पताल लगिएको थियो, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेद जोशीले भने, ‘फर्कने क्रममा कृष्ण पाण्डेय फरार भए ।’ पेटको समस्या देखिएपछि उनीहरुलाई जाँचका लागि अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक बेद जोशीले बताए ।

‘कृष्ण र प्रकाशलाई एउटा हतकडी लगाइएको थियो’ प्रहरी नायव उपरीक्षक जोशीले भने, प्रकाशको हातबाट हतकडी फुस्कियो कृष्ण हतकडी सहित भागे ।’ दुबै जनालाई म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको जोशीले बताए । उनले फरार भएका थुनुवाको खोजिका लागि जिल्ला र ईलाकाको टोली खटिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार