१० श्रावण २०८१, बिहीबार

बाजुरामा सिडियो र प्रहरी प्रमुखहरू फेरिए



बाजुरा / बाजुरामा प्रमुख जिल्ला अधिकारीसहित नेपाली प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू फेरिएका छन् ।

बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरवाही गरेको भन्दै निर्वाचन आयोगले यसअघि कार्यरत प्रजिअसहित सुरक्षा अधिकारीहरूलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएबमोजिम आइतबार नयाँ प्रमुखलाई पठाइएको हो ।

प्रमुख जिल्ला अधिकारीमा अध्यागमन विभागमा कार्यरत रहेका प्रकाशचन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुखमा प्रहरी नायव उपरीक्षक (डिएसपी) मा नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत रहेका सूर्य थापा र सशस्त्र प्रहरी प्रमुख डिएसपीमा टीकापुर तालिम केन्द्रमा कार्यरत गंगा पन्तलाई बाजुरा पठाइएको छ । उनीहरू तीनै जनालाई आइतबार सेनाको हेलिकप्टरबाट सदरमुकाम मार्तडी पुर्याइएको हो ।

यसअघि कार्यरत प्रजिअ उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डिएसपी चतुर्भूज ओझा र सशस्त्रका प्रमुख डिएसपी दिपक विष्ट आइतबार नै जिल्लाबाट बाहिरिएका छन् ।

मतदानका दिन बुढीगंगा नगरपालिका अन्तर्गतका विभिन्न मतदानस्थलमा बुथ कब्जा तथा धाँधलीका घटनाहरू भएपछि दुई सातासम्म पुनः मतदान या मतगणना भन्ने विवाद भएको थियो । एमालेले मतगणना हुनुपर्ने अडान लिएको थियो भने कांग्रेसले पुनः मतदानमा जोड दिएको थियो ।

विवादको निरुपण गर्न बाजुरा पुगेको निर्वाचन आयोगका आयुक्तसहितको टोलीले स्थलगत अध्ययन गरी पेश गरेको प्रतिवेदनपछिको छलफलबाट आयोगले चार दिनअघि बुढीगंगामा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

त्यसैक्रममा आयोगकै निर्देशन अनुसार गृह मन्त्रालयले आइतबार प्रमुख जिल्ला अधिकारीसहित नयाँ सुरक्षा अधिकारी पठाएको हो ।

पुनः निर्वाचनको मिति भने निर्वाचन अधिकृतको कार्यालयले नै तोक्ने आयोगले बताएको छ । यसअघि कार्यरत बुढीगंगाका निर्वाचन अधिकृतले राजिनामा दिएपछि आयोगले अर्का निर्वाचन अधिकृत भने यसअघि नै तोकिसकेको छ ।

प्रमुख जिल्ला अधिकारीले सबै दलहरूसँगको समन्वयमा निर्वाचनको मिति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार