१६ बैशाख २०८१, आईतवार

साझा उम्मेदवारहरूलाई विजयी गराऔं– गठबन्धन



धनगढी / सत्ता गठबन्धनका नेताहरूले आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा साझा उम्मेदवारहरूलाई सबै मिलेर जिताउन आग्रह गरेका छन् ।

राष्ट्रिय राजनीति र स्थानीय आवश्यकताका साथै समयको मागका कारण धनगढी उपमहानगरपालिकामा भएको पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई जिताउन गठबन्धनमा रहेका पार्टीहरूले आग्रह गरेका हुन् ।

नेपाली काग्रेंसको तर्फबाट नगर सभापति यज्ञराज उपाध्याय, नेकपा माओवादी केन्द्रको तर्फबाट नगर ईन्चार्ज निर्मल शाह, नेकपा समाजवादीको तर्फबाट नगर अध्यक्ष मदनराज रेग्मी र राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेश सदस्य खडक रानाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरेको हो ।

गठबन्धनले आवद्ध सबै राजनीतिक दलका स्थानीय वडा तहको नेतृत्व, वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरू वडा तहमा आ–आफ्नो दलका उम्मेदवारका पक्षमा मत माग्ने र गठबन्धनका साझा मेयर पदका उम्मेदवारको निर्वाचन चिन्ह रुखमा र उपप्रमुखका उम्मेदवारको निर्वाचन चिन्ह गोलाकार भित्र हँसिया, हतौडामा मतदान गर्ने वातावरण सुनिश्चित गर्न सबैमा अनुरोध गरेको छ ।

संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ– धनगढी उपमहानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका नृपबहादुर वड र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शन्ति अधिकारीलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्दै वडा स्तरमा गठबन्धनका घटक दलहरूबीच मित्रवत प्रतिस्पर्धा गरिरहेका छौं ।

बिहिबार गठबन्धन दलहरूले विज्ञप्ती जारी गर्दै निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सबै पार्टीका जिल्ला, क्षेत्रीय, पालिका र वडा स्तरका संगठनहरू तथा सबै पार्टीका भातृ तथा सुभेच्छुक संघसंस्थाहरू, क्रियाशील÷संगठित सदस्यहरू, सबै तहका निर्वाचन परिचालन कमिटीहरूलाई हार्दिक अनुरोध गरेको छ ।

‘हामी गठबन्धन दलका नेतृत्व पंक्ति यो निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सबै पार्टीका जिल्ला, क्षेत्रीय, पालिका र वडा स्तरका संगठनहरू तथा सबै पार्टीका भातृ तथा सुभेच्छुक संघसंस्थाहरू, क्रियाशील/संगठित सदस्यहरू, सबै तहका निर्वाचन परिचालन कमिटीहरूलाई हार्दिक अनुरोध गर्दै संयुक्त गठबन्धनका साझा मेयर तथा उपपमेयर पदका उम्मेदवारहरूलाई बहुमतका साथ विजयी गराउन हुन सम्पूर्ण आदरणीय नगरबासीहरूमा सादर अनुरोध गर्दछौं’ जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार