७ बैशाख २०८१, शुक्रबार

फूलवारी क्याम्पस चरम आर्थिक संकटमा




फूलवारी / कैलालीको धनगढी उपमहानगरपालिका –१८ स्थित फूलवारी बहुमुखी क्याम्पस चरम आर्थिक संकटमा परेको छ ।

दिगो आर्थिक स्रोतको अभावमा क्याम्पस चरम आर्थिक संकटमा परेको हो । जसका कारण क्याम्पस एक करोड १० लाख रुपियाँको ऋणमा डुवेको छ भने प्राध्यापकहरुले विगत २/३ वर्षदेखि तलब पाएका छैनन् ।

क्याम्पस चरम आर्थिक संकट परेपछि विद्यार्थीको संख्यामा समेत गिरावट आएको छ ।

पटकपटक तलब पाउने आश्वासन पाए पनि समयमै तलब पाउन नसकेको क्याम्पस प्राध्यापक किरण अधिकारीले बताउनुभयो । समयमै तलब नपाउने हो भने अध्यापन नै रोक्नुको विकल्प नभएको अधिकारीको भनाइ छ ।

क्याम्पस चरम आर्थिक संकटमा परेका कारण विद्यार्थीको भविष्यमा परेको बताउदै सोही क्याम्पसमा अध्यापनरत प्राध्यापक श्याम जोशीले विद्यार्थीहरुले स्थानान्तर मागिरहेकोे समेत बताए ।

यस्तै क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले पनि आर्थिक संकटका कारण पठन–पाठनमा गुणस्तर खस्किदै भएको बताएका छन् ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेश बस्नेतले प्रदेश सरकार, स्थानीय सरकार,सङ्घीय सरकारसंग आर्थिक संकट हल गर्न पहल गरिरहेको बताए ।

क्याम्पसको आर्थिक अवस्था सुधार गर्न विभिन्न योजना बनाए पनि समुदायले अपनत्व महसुस हुन नसकेका कारण दिनप्रतिदिन क्याम्पसले आर्थिक संकट झेल्नु परेको उनले बताए ।

२०६६ सालमा समुदायिक स्तरबाट स्थापना भएको क्याम्पसमा २५० बढी विद्यार्थी अध्ययनरत छन् । सो क्याम्पसमा शिक्षा र वाणिज्य संकायमा स्नातक तहसम्म अध्यापन हुन्छ ।

प्राध्यापक र कर्मचारी गरेर १८ जनाको मासिक चार लाख रकम तलवमा मात्र खर्च हुने गरेको क्याम्पस प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार