प्रधानमन्त्रीको गृह पालिकामा काँग्रेसद्वारा चुनावी तालमेल अस्वीकार

डडेल्धुरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिकामा काँग्रेसको वडा कार्यसमितिले अरु दलहरूसंगको चुनावी तालमेल अस्वीकार गरेको छ ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका २ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको निर्णय गरेर गाउँपालिका कार्यसमितिलाई पत्राचार गरेको जनाइएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ती दुवै वडामा कांग्रेस विजयी भएको थियो । तालमेलबिना नै जित्न सकिने भन्दै दुवै वडाका कार्यसमितिले निर्णयसहित सिफारिस पत्र पठाएको कांग्रेस गन्यापधुराका सभापति इन्द्र कार्कीले जानकारी दिए ।
सभापति कार्कीका अनुसार वडा नम्बर १, ४ र ५ का वडा कार्यसमितिले तालमेलबारे निर्णय गरिसकेका छैनन् । २०७४ सालको स्थानीय निर्वाचनमा गन्यापधुराका वडा नम्बर १ मा कांग्रेस, ४ मा नेकपा माओवादी केन्द्र र ५ मा नेकपा एमाले विजयी भएका थिए ।
गाउँपालिका कार्यसमिति सभापति कार्कीले गन्यापधुरामा चुनावी तालमेल आवश्यक नरहेको आशय व्यक्त गर्दै वडा कार्यसमितिको सिफारिस माथिल्लो तहलाई जस्ताको त्यस्तै पठाउने बताएका छन् ।




