२९ मंसिर २०८२, सोमबार

बालविवाह न्युनिकरणका चुनौति





सरकारले बालविवाह रोकथाम गर्न कानुनी प्रबन्ध गर्नुका साथै सरकारी तथा गैरसरकारी क्षेत्रबाट यसको रोकथामका लागि थुप्रै प्रयासहरु भइरहे पनि नेपालमा अझैं पनि बालविवाहको चुनौति कायमै रहेको देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा पनि बालविवाह न्युनिकरणमा उल्लेख्य कमी आउननसकेको तथ्यांकहरुले देखाएका छन् । बालबालिकाको अधिकारको क्षेत्रको काम गर्नै आएका सिविन लगायतका गैरसरकारी संस्थाहरुको पछिल्लो अध्ययनले समेत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा समुदायमा बालविवाहलाई अहिले पनि सामान्य मान्ने गरिएको देखाएको छ ।

बालविवाहका कारण बालिकाको मात्रै नभएर बालकको शारीरिक, मानसिक अवस्थामा असर पर्ने गरेको छ । विवाहबारे शारीरिक र मानसिक रुपमा तयार नभएका अवोध बालबालिकाहरु अभिभावकको करकाप र इच्छाका कारण विवाहबन्धनमा बाधिदा उमेर बढ्दै जादा थुप्रै खालका जटिलता र समस्याहरु सिर्जना हुनेगरेको अनगिन्ती उदाहरण छन् । त्यसैले नै विवाहका लागि वैज्ञानिक आधारसहित ऐनमै व्यवस्था गरेर उमेर सिमा निर्धारण गरिएको हुन्छ ।

तर, ऐनलाई समेत वेवास्ता गर्दै अहिले पनि अभिभावकहरु नै बालविवाह गर्न गराउन तल्लीन हुनेगरेको अधिकांस घटनामा देखिएको छ ।

बालविवाह रोकथामका लागि अभिभावक तथा किशोरकिशोरीहरुको नै मुख्य भूमिका र दायित्व हुन्छ । कतिपय समुदायमा अहिले पनि बालविवाह मान्य रहेको अवस्था छ । अझ कतिपय समुदायका लागि बालविवाह धार्मिक विश्वासका साथै संस्कार हो । उनीहरु यसलाई अस्वीकार गर्न हत्तपत्त तयार रहदैनन् । त्यस्तै, अल्लारे बैशको आगोशमा बालबालिकाहरुले विहे गर्ने र त्यसलाई अभिभावकले समेत स्वीकार गर्ने गरेका पनि उदाहरण छन् ।

अर्कोतिर, कथित तल्लो र माथिल्लो जातका उमेर नपुगेका केटाकेटीबीचबीच प्रेम विवाह हुदा उमेरको सवाल उठ्दा जातीय विभेदको कुरा उठाएर बालविवाहको सवाललाई नैपथ्यमा धकेल्ने प्रयास हुनेगरेको पनि पाइन्छ । त्यसैले जुनसुकै कारणले भए पनि बालविवाहलाई समाजको कुनै पनि पक्षले अमान्य गर्नेतर्फ गम्भीर हुनु आवश्यक हुन्छ ।

बालविवाहको समस्याको पूर्ण रुपमा निराकरणका लागि मौजुदा कानुनको कडाईका साथ कार्यान्वयन एउटा पक्ष हो । त्यसभन्दा पनि परिवार, अभिभावक सहित समाजका सबै पक्ष यसप्रति गम्भीर हुनु अनिवार्य छ । परिवारभित्रै बालविवाहले पछि सिर्जना गर्ने समस्या र जटिलताबारे बहस गर्ने, अभिभावकले छोराछोरीलाई यसबारे समयसमयमा सचेत गर्ने, विद्यालयमा विद्यार्थीहरुमाझ बालविवाहले सिर्जना गर्ने समस्याबारे खुलेर बहस गर्ने वातावरण निर्माण गर्नेदेखि बालविवाहका कारणपछि सिर्जना भएका समस्याको तथ्यगत कथाहरुबारे जानकारी दिने लगायतका कार्यहरुलाई नियमित रुपमा सञ्चालन गर्नु आवश्यक हुन्छ ।

सडक नाटक, निबन्ध तथा वक्तत्वकला प्रतियोगिता, सेमिनार, र्याली, रेडियो तथा टिभी कार्यक्रम, आम सञ्चारका माध्यममार्फत कार्यक्रम जस्ता सचेतनामुलक कार्यक्रमहरुलाई अझ व्यापक रुपमा सञ्चालन गरिनु पर्दछ । बाल मानसिकताले भविष्यमा हुनसक्ने समस्याको पहिचान गर्न सक्दैन ।

त्यसैले उनीहरुलाई यस्ता गलत कार्यबाट बिमुख बनाउन अभिभावकको भूमिका रहन्छ । यदि अभिभावकका कारण नै बालविवाहले प्रश्रय पाएको प्रमाणित हुन्छ भने हदैसम्मको कानुनी कारबाहीको भागी बनाइनु पर्दछ । यसका लागि फेरि पनि सबै प्रकारका प्रयासहरुलाई निरन्तरता दिनु जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार