११ बैशाख २०८१, मंगलवार

बर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान



धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ८ मा स्थित उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्र । केन्द्रमा वर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । तर, सेन्टरका लागि आवश्यक सामग्रीहरूको अभावका कारण प्रभावकारी रुपमा सेवा प्रदान गर्न सकेको थिएन । सो केन्द्रले ब्याकवार्ड सोसाईटी एजुकेसन (बेस) नेपाललाई पत्र लेखेर आवश्यक सामग्रीको विवरण पठायो ।

आइतबार सो केन्द्रमा लुथरन वर्ल्ड रिलिफको आर्थिक सहयोग, कैलारी गाउँपालिकाको समन्वय तथा बेसको सहकार्यमा ती स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरियो । डेलीभरी सेट, बेड, अटोकिलेभ, म्याटरिस्ट लगायतका १२ प्रकारका सामग्री स्वास्थ्य निरिक्षक रामकुमार चौधरीलाई हस्तान्तरण गरियो । सामग्री बुझ्दै स्वास्थ्य निरिक्षक चौधरीले भने– यहाँ विभिन्न संघसंस्थाले सामग्रीहरू सहयोग गर्दै आइरहेका छन् । तर, उनीहरूले यहाँको आवश्यकताभन्दा अरु नै सामग्रीहरू सहयोग गर्ने गरेका छन् उनले भने– यो परियोजनाले यहाँको माग अनुसारको सामग्री प्रदान गरेका कारण सेवा प्रवाहमा थप सहयोग पुगेको छ ।

वेसले कोभिड १९ बाट प्रभावित समुदायहरूको लागि पुनरोत्थान परियोजनाअर्न्तगत कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा काम गर्दै आइरहेको छ । आइतबार सो संस्थाले केन्द्रलाई एक लाख ६१ हजार एक सय ६३ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वडा अध्यक्ष दुखीराम चौधरीको रोहवरमा हष्तान्तरण गरेको हो ।

उदासिपुरमात्र नभई बेससंग सो गाउँपालिकामा रहेका अन्य स्वास्थ्य संस्थाले पनि आवश्यकताअनुसारको स्वास्थ्य सामग्री माग गरेका थिए । कैलारी वडा नम्बर ९ स्थित गदरिया स्वास्थ्य चौकी, वडा नम्बर ६ स्थित वनकट्टा आधारभुत स्वास्थ्य केन्द्र, वडा नम्बर ७ स्थित रतनपुर स्वास्थ्य चौकी, वडा नम्बर ५ स्थित पवेरा स्वास्थ्य चौकी, वडा नम्बर ३ स्थित हसुलिया स्वास्थ्य चौकी र वडा नम्बर २ स्थित बसौटी स्वास्थ्य चौकीलाई पनि माग अनुसारको स्वास्थ्य सामग्री हष्तान्तरण गरिएको थियो ।

गदरिया स्वास्थ्य चौकीमा एक लाख १३ हजार एक सय ७७, वनकट्टामा ८३ हजार नौ सय ५५, रतनपुरमा ३० हजार ७४, बसौटीमा २८ हजार छ सय ५२, हसुलियामा एक लाख २७ हजार तीन सय ४३ र पवेरामा एक लाख सात हजार सात सय ८३ रुपैया बराबरको स्वास्थ्य सामग्री हष्तान्तरण गरिएको वेसका कार्यक्रम संयोजक लक्ष्मणप्रसाद चौधरीले बताए । उनले परियोजनाअर्न्तगत कैलारी गाउँपालिकामा कृषि र स्वास्थ्य क्षेक्रमा कार्यत्रम गरिदै आएको बताए । उनले स्वास्थ्यको कार्यक्रम कैलारी गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा सञ्चालनमा रहेको छ भने कृषिअर्न्तगत चार वटा वडामा कार्यक्रम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार