८ पुष २०८१, सोमबार

खुला पुरुष भलिवल प्रतियोगिता हुने



गुगलबाट लिइएको फाइल फोटो


धनगढी / सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहको आयोजनामा टीकापुरमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

टीकापुर नगर खेलकुद विकास समितिको संयोजनमा हुन लागेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता यही चैत १४ गतेबाट टीकापुरमा आयोजना गर्न लागिएको हो ।

लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरतास्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नन्दसिंह विकले बताएका छन ।

हामीले यो प्रतियोगिता फागुनमा नै गर्नुपर्ने हो । कोरोनाको संक्रमणका कारण मिति तय गर्न सकिएन । त्यसपछि अर्को प्रतियोगिता पनि आयोजना भएको कारण समय सार्नुपरेको हो’ कार्यक्रम संयोजक विकले भने, अब कार्यक्रमको तयारी सुरु गरेका छौ ।

हामी टीकापुरलाई खेलकुद क्षेत्रबाट देशभर चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न थालेका हौ ।
उनले खेलकुदसँग पर्यटन क्षेत्र पनि जोडिएको कारण टीकापुर क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि यो प्रतियोगिताले भूमिका खेल्ने बताए । लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि हुन सकेनन् ।

मेयर उपमेयर कप भए पनि त्यसले समग्र खेलकुदलाई जोड्न सकेन कार्यक्रम संयोजक विकले भने, हामी समुदायमा जहिले पनि फरक कामबाट चिनिन चाहन्छौ । त्यसैले वर्षौंसम्म टीकापुरमा हुन नसकेको भलिबल प्रतियोगिताको आयोजना गरेका थियौ र त्यसलाई निरन्तरता दिइरहेका छौ ।

गत वर्ष ५० हजार प्रथम पुरस्कारबाट सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणदेखि प्रथम पुरस्कार बढाएर एक लाख ५१ हजार एक बनाइएको बताइएको छ ।

कार्यक्रम संयोजक विकका अनुसार कैलाली जिल्लामा संस्थागत रुपमा आयोजना भएको भलिबल प्रतियोगिता अहिलेसम्मको यो धेरै धनराशिको हो ।

त्यस्तै प्रतियोगिताको दोस्रो हुनेले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गर्नेछ । खेलमा तेस्रो स्थान हुनेले ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रप्त गर्ने छ भने सान्त्वना टिमले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा सहभागी हुने टिमले चैत १३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने बताइएको छ । सो खेलकुद प्रतियोगिता आयोजना गर्न सात लाख ६० हजारको अनुमानित खर्च आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार