५ पुष २०८२, शनिबार

श्रमिक महिलाका सवालबारे अन्तरक्रिया




धनगढी / ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा आइतबार धनगढीमा श्रमिक महिलाका सवाल तथा हकहितका लागि भएका नीतिगत व्यवस्था, चुनौति र मार्गनिर्देशनबारे अन्तरक्रिया भएको छ ।

सुदूरपश्चिम प्रदेश सभा, सामाजिक विकास समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश सभामुख, उपसभामुख, प्रदेश सभा सदस्य, मुख्य न्यायधिवक्ता, प्रदेश सचिव तथा मन्त्रालयका सचिवहरु, प्रदेश सभा सचिवालयका अधिकारीहरु, मानवअधिकार आयोग, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहित ३० जनाको सहभागिता रहेको थियो ।

यस वर्ष सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता नारा सहित आगामी २४ गते ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइदै छ ।

कार्यक्रममा प्रदेश सभामुख अर्जुनबहादुर थापाले महिला श्रमिकको श्रमको उचित सम्मान हुन नसकेको चर्चा गरे । सभामुख थापाले भने, अझै पनि महिला श्रमिकको श्रमको सम्मान गर्ने वातावरण बनेको छैन । काम र ज्यालामा कुनै पनि किसिमको भेदभाव हुन नदिन हामी सबै गम्भीर बन्न आवश्यक छ ।

उनले महिला श्रमिक सम्बन्धी कानुन निर्माणका लागि सरकारसंग छलफल हुने बताए ।

सभामुख थापाले महिलालाई स्वरोजगार र आर्थिक रुपमा आत्मनिर्भर बनाउनेतर्फ सरकारले गम्भीर पहल गर्न आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरीले महिला हिंसा र पीडाका घटना रोकथामका लागि अझ कडा कानुन आवश्यक रहेको बताइन् ।

प्रदेश उपसभामुख निर्मला बडाल जोशीले नेपालको संविधानले सबै पक्षका सवालको सम्बोधन गरे पनि कान्नको प्रभावकारी कार्यान्वयनको पक्ष निकै कमजोर रहेको बताइन् ।

उनले भनिन्– पीडामा परेका श्रमिक महिलाहरुको न्यायमा पहुच पुराउन वडा कार्यालय तथा न्यायिक समितिले बढि पहल गर्नु आवश्यक छ ।

कार्यक्रमको अध्यक्ष तथा सामाजिक विकास समिति सभापति कुन्ती जोशीले प्रदेशका हरेक नीति र ऐनकानुनमा महिला, दलित, अल्पसंख्यक आदिका सवालको सकेसम्म सम्बोधनको प्रयास भइरहेको बताइन ।

कार्यक्रममा प्रदेश सभा सदस्य सुशीला बुढाथोकी, मुख्यमन्त्री कार्यालयका कानुन सचिव गंगाबहादुर खरेल, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख मोहन देव जोशी, युएनएफपीएका कृष्ण चौधरी, सपना न्यौपाने भण्डारी, निरज चौधरी, सविना सुनार, बिनु चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेशका मुख्य न्याधिवक्ता कुलानन्द उपाध्यायले श्रमिक महिलाको हकहित तथा अधिकारबारे भएगरेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नीतिगत प्रबन्ध, सन्धी सम्झौता, ऐनकानुन बारे प्रस्तुति गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री माया भट्टले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।

कार्यक्रमको पत्रकार मनमोहन स्वारले सहजीकरण गरेका थिए । कार्यक्रम युएनडिपी संसद सहयोग परियोजनाको सहयोगमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार