१२ पुष २०८१, शुक्रबार

एक कल फोन गर्न तीन दिन




बझाङ / अहिलेको युगमा पनि एक कल फोन गर्न तीन दिन समय लाग्छ भन्दा अचम्म लाग्न सक्छ ।

तर तीन सातादेखि साइपाल गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि स्थानीयहरू तीन दिन पैदल हिँडेर टाढा रहेका आफन्तलाई फोन गरिरहेका छन्।
तीन साताअघि मष्टा गाउँपालिका–५ रिलु्को भकुण्डेमा रहेको नेपाल टेलिकमको टावरमा स्थानीय भरत उखेडाले तोडफोड गरेपछि बझाङको उत्तरी क्षेत्रमा टेलिफोन सेवा विच्छेद भएकोले एक कल फोन गर्नका लागि साइपालबासीले तीन दिन हिँड्नु पर्ने बाध्यता आइपरेको हो ।

टावर बिग्रेको तिन साता बितिसक्दा पनि मर्मतका लागि नेपाल टेलिकमले कुनै चाँसो नदेखाएको स्थानीयको आरोप छ । तीन सातासम्म पनि टावर मर्मतका लागि समेत कुनै पहल नगर्नु टेलिकमको चरम लारबाही हो, साइपाल गाउँपालिका–३ का स्थानीय मानबहादुर बोहराको भने ।

गाउँमा बिरामी हुँदा , अत्यावश्यक काम पर्दा समेत सम्र्पक गर्न निकै समस्या छ । एक कल फोन गर्न समेत सदरमुकाम चैनपुर झर्नुपर्ने बाध्यता आइपरेको छ ।

बझाङको उत्तरी क्षेत्रमा पर्ने साइपाल गाउँपालिकाको धुली, बलौडी , न्युनाबाट एक कल टेलिफोन गर्नका लागि झण्डै तीन दिन लाग्ने गरेको छ । यसका साथै धलौन,काडा“बाट समेत दुई दिनको पैदल दूरीमा सदकरमुकाम झर्नु र्ने अवस्था छ ।

साइपाल गाउँपालिका– २ र ३ को विचमा रहेको नाग्नाको डाँडामा रहेको टेलिकमको टावरमा समेत मष्टाको भकुण्डेमा रहेको टावरबाट लिकं दिएकाले साइपाल गाउँपालिकाको टेलिफोन सेवा समेत अबरुद्ध भएको नेपाल टेलिकम बझाङका निमित्त प्रमुख वमबहादुर सिंहले बताए ।
उनले नेपाल टेलिकमको क्षेत्रीय कार्यालयलाई समेत पत्राचार गरिसकेकोले मर्मत हुन समेत केही दिन लाग्ने बताए ।

टावर तोडफोड गर्नेका विरुद्ध किटानी जाहेरी दिएको भए पनि प्रहरीले अझैसम्म पनि पक्राउ नगरेका समेत प्रमुख सिंहको आरोप छ । टावर तोडफोड गर्ने स्थानीय भरत उखेडाको मानसिक अवस्था ठिक नभएको समेत बताइएको छ ।

टावर मर्मत गरेर टेलिफोन सञ्चालन गर्नका लागि समेत आफू नेपाल टेलिकमको केन्द्रीय कार्यालयसम्म पुगेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।

टावर तोडफोड गर्नेलाई कार्वाही नगर्दासम्म टेलिफोन सेवा सञ्चालन नहुने बताएपछि आफु निराश भएर फर्केको समेत उनको भनाइ छ । तीन साता अगाडि टावरका सोलार पाता , तार व्याट्री लगायतका सामाग्रीहरू तोडफोड गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले टावर ताडफोड गर्ने विरुद्ध किटानी आएपछि कार्वाहीको प्रक्रिया अगाडि बढाइने बताए । उनले टावर सञ्चालन गर्नका लागि नेपाल टेलिकमको क्षेत्रीय कार्यालयलाई समेत पत्राचार गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार