१० श्रावण २०८१, बिहीबार

सतबाँझमा हिउँ खेल्न आन्तरिक पर्यटकको घुइचो



बैतडी / बैतडीको सतबाँझमा तेस्रो वर्ष हिमपात भएपछि हिउँ खेल्न आन्तरिक पर्यटक सतबाँझ पुग्न थालेका छन् ।

सतबाँझ सुख्खा फलफूल विकास केन्द्रको करिब २९ हेक्टर क्षेत्रफलमा परेको हिमपातले डाँडै सेताम्मे भएको छ ।

हिँउ खेल्न शुक्रबारदेखि आन्तरिक पर्यटक गाडी लगेर सतबाँझको मुस्योचार पुग्दा थालेपछि स्थानीय बजारमासमेत चहलपहल बढेको छ । हिउँ पर्दा सतबाँझको व्यपार व्यवसायमा टेवा पुगेको स्थानीय महेश भट्टले बताए ।

सतबाँझमा करिब चार फिट हिउँ पर्दा सुख्खा फललफूल विकास केन्द्रको गेटबाट आन्तरिक पर्यटक फलफूल विकास केन्द्रको डाँडासम्म आइपुगेको कार्यालय प्रमुख डम्बर भाटले बताए ।

हिमपातले सतबाँझ सुख्खा फलफूल विकास केन्द्रको नर्सरीलाई दोहोरो फाईदा पुगेको भाटले बताए ।

कार्यालय प्रमुख भाटले भने, “ हिउँ पर्दा वातावरणका दृष्टिले नर्सरीलाई फाईदा पुगेको छ, भने हिउँ खेल्न आउने आन्तरिक पर्यटकलाई नर्सरी बारे जानकारी गराउँन पाउँदा प्रचारप्रसार भइरहेको छ ।”

सतबाँझ फललूल विकास केन्द्रमा हिउँ खेल्न आउने आन्तरिक पर्यटकलाई ओखर, कागजी बदाम लगायत ५० हजार हिउँदे फलफूलका विरुवाको नर्सरी रहेको जानकारी दिन पाउँदा नर्सरीको प्रचारप्रसार हुन थालेको कार्यालयले जानकारी दिएको छ ।

वि.सं. २०१९ सालमा सरकारी स्वामित्वमा रहने गरेर छ हजार स्याउका बोट रोपेर स्थानपना भएको सतबाँझ बागवानीमा पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउ फल्न छोडेपछि हालः हिउँदे फलफूलका वीरुवाको नर्सरी सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार