१० श्रावण २०८१, बिहीबार

विद्युत र टेलिफोन सेवा अवरुद्ध , स्थानीयलाई हैरानी



चैनपुर / हिमपातका कारण अवरुद्ध भएको विद्युत र टेलिफोन सेवा सञ्चालन हुन नसक्दा स्थानीय मर्कामा परेका छन् ।

हिमपातका कारण विद्युतको राष्ट्रिय प्रसारण लाइनमा समेत समस्या आएपछि विद्युत सेवा र टेलिफोन सेवा एकै पटक अवरुद्ध भएका हुन् ।
डडेल्धुरा, बैतडीहुँदै ल्याइएको राष्ट्रिय प्रसारण लाइनमा हिमपातका कारण ठाउँठाउँमा रुखहरु भाँचिनुका साथै पोलहरु समेत ढलेपछि जिल्लामा विद्युत सेवा बन्द भएको छ ।

विद्युत सेवा बन्द भएपछि त्यसको प्रत्यक्ष असर टेलिफोन सेवामा समेत परेको छ । जयपृथ्वी राजमार्ग हुँदै ल्याएको विद्युतको राष्ट्रिय प्रसारण लाइनको देलेख श्रीभावर , बिजयपुर र अनारखोलीमा पोल ढलेकोले मर्मत कार्य भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङका प्रमुख हरेन्द्र यादवले बताए ।

पोलहरु गाड्ने र लाइन मर्मत गर्ने काम भइरहेकाले अझै दुई तीन दिन लाग्ने समेत उहाँको भनाई छ । विद्युत सेवा बन्द भएपछि स्थानीयहरु मोवाइल चार्ज गर्न , उज्यालो बाल्न , साना तथा घरेलु उद्योग र दैनिक कार्यालय संचालन गर्न समस्या भएको छ ।

विद्युत सेवा अबरुद्ध भएकाले त्यसको प्रत्यक्ष असर टेलिफोन सेवामा समेत परेको छ । सदरमुकाम चैनपुरस्थित नेपाल टेलिकमको रिपिटर टावर चार्जको अभावले बन्द छ ।

मौसम सफा नभएका कारणले टेलिकमका टावरहरुमा सोलारले समेत काम गर्न छाडेकाले घाम लागेको बेला टेलिफोन आउने र घाम अस्ताउने वित्तिकै टावर जाने समस्या आएको नेपाल टेलिकम बझाङका निमित्त प्रमुख वमबहादुर सिंहले बताए ।

जिल्लाभरि रहेका झण्डै दुई दर्जन भन्दा बढी टावरहरुमा सौर्य उर्जामा निर्भर छन् । लगातार घाम नलागेको खण्डमा टेलिफोन सेवा बर्षेनी अवरुद्ध हुँदै आएको भए पनि यसको भरपर्दो वैकल्पीक व्यवस्था गर्न नसक्दा स्थानीयले अनावश्यक हैरानी बेहोर्नु परेको छ ।

पटक पटक स्थानीयले टेलिकमको टावरहरुमा भरपर्दो व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका भए पनि नेपाल टेलिकमले भने त्यसको व्यवास्ता गर्दै आएको छ । स्थानीय सुनिल मण्डेले भने, हामीले पटकपटक यस विषयमा आवाज उठाएको भएपनि यसको बारेमा सरोकारवाला निकायबाट कुनै पहल हुन सकेको छैन् ।

नेपाल टेलिकमले आफ्नो सेवा जिल्लाभरि विस्तार गरेको भए पनि भरपर्दो र गुणस्तरिय सेवा भने दिन सकेको छैन् । तर बझाङका केही ठाउँमा एनसिएल टावरबाट भरपर्दो र गुणस्तरिय सेवा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार