१० श्रावण २०८१, बिहीबार

४० वर्ष एउटै स्कुलमा विताएका शाहलाई अनिवार्य अवकाश हुँदा भव्य विदाइ




बुढीगंगा (बाजुरा) / एउटा शिक्षक ४० वर्ष एउटै विद्यालयमा कार्यरत रहनु आश्चर्यको विषय हो । त्यसैमा प्रधानाध्यापकको जिम्मेवारी सहितको शिक्षक । उनै शिक्षकलाई समुदायले बाजागाजा सहित विद्यालयबाट विदाइ गरेर घर पुगाएको छ ।

त्यसरी एउटै विद्यालयमा चालिस वर्ष शिक्षक सहितको प्रधानाध्यापकको जिम्मेवारी पूरा गरेर अनिवार्य अवकाश पाएका विष्णुध्वज शाहलाई समुदायले भव्य विदाइ गरेको हो ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १० मा रहेको सिगाडा गाउँको सिगाडा आधारभूत स्कुलमा २०३८ सालमा साउन २० गते शिक्षकको सेवा शुरु गरेका शाहले सोही विद्यालयबाटै अवकाश लिएका हुन ।

शाहकै प्रयासमा सो विद्यालय आधारभूत तहबाट माविसम्म भएको छ । शाहलाई बाजागाजा सहित मंगलबार शाहको बुढिगंगा नगरपालिकाकै वडा नम्बर ९ मा रहेको माथिल्ला काप्रितोलाको घर पुगाइको थियो ।

म सँधै आफ्नो काममा जिम्मेवारपूर्वक लागिरहेँ, यति लामो समय विताएको पनि याद भएन तर त्यो कामको यसरी समुदायले नै मूल्यांकन गर्ला सोचकै थिएन शाहले भने मैले यहाँ ४० वर्ष छ महिना यहाँ काम गरे ।

शाह दैनिक आधा घण्टा हिँडेर स्कुल पुग्थे भने आधा घण्टै हिँडेर घर पुग्थे । उनको अनुभव छ निक्कै जरुरी काम तथा विमारी भए बाहेकको समय म निरन्तररुपमा सँधै स्कुल गए, सँधै स्कुलको पठनपाठन र भौतिक प्रगतिमा लागिरहेँ त्यसैले पनि होला ४० वर्षसम्म मलाई स्थानीयले यही काम गर्न दिए ।

प्रधानाध्यापक शाहलाई १० नम्बर वडाको सिगाडा, नुवाकोटगाउँका स्थानीयले विद्यालयमै पनि एक औपचारिक कार्यक्रम गरेर विदाइ गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षकको र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।

प्रअ शाहको बिदाइमा सबैका आँखामा आशु रसाएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका उपप्रमुख तारा खाती रहेकी थिइन् भने विशिष्ट अतिथि वडाअध्यक्ष धर्मराज जोशी रहेका थिए ।

उहाँले विद्यालय बनाउनमा ठूलो योगदान गर्नुभयो, आधारभूत विद्यालयलाई मावि बनाएर जानुभयो, उहाँ त यहाँको मुख्य अभिभावक हो विद्यालयका व्यववस्थापन समितिका अध्यक्ष दलबहादुर साउदले वताए ।

शाहलाई शिक्षकहरुले मायाको चिनो रुवरुप सुनको औठी दिएका थिए । शाहलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले पनि मायाको चिनो दिएको थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार