१० श्रावण २०८१, बिहीबार

अधिकांस स्थानीय तहले हिउदे अधिवेशनको तयारी गरेनन्




धनगढी / कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको अहिलेसम्म तयारी समेत गरेका छैनन् । प्रथम अधिवेशन भएको छ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै सुरु गर्नुपर्ने थियो । पछिल्लो समय आफैले बनाएको कानुन कार्यान्वयनमा यहाँका जनप्रतिनिधि चुकेका छन्।

टीकापुर नगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि २०७४ अनुसार एउटा अधिवेशन समाप्ति र अर्को बैठक प्रारम्भका बीचको अवधि छ महिनाभन्दा बढी नहुने उल्लेख छ । सो कार्यविधिअनुसार नगरपालिकाले पुस महिनाभित्र अर्को अर्थात् हिउँदे अधिवेशन गरिसक्नुपर्ने भए पनि माघ महिनाको तेस्रो साता भइसक्दासमेत अधिवेशन बोलाउने कुनै तयारी नगरपालिकाले गरेको छैन ।

नगर प्रवक्ता दीर्घबहादुर ठकुल्लाले हिउँदे अधिवेशन पुस महिनामै बोलाउनुपर्ने भए पनि नगरसभाका लागि आवश्यक एजेन्डा तय नभइसकेका कारणले पनि ढिलाइ भएको बताए ।

अधिवेशन बोलाउने नगरप्रमुखले हो, अहिलेसम्म नगरसभा बोलाउनेबारे कुनै छलफल पनि भएको छैन, उनले भने, हामीले भनेर हुँदैन, माघमा पनि अधिवेशन बोलाउने सम्भावना निकै कम भइसकेको छ । सम्भवत हिउँदे अधिवेशन फागुनमा हुन्छ होला ।

उनले नगरपालिकाले भर्खर चालु आर्थिक वर्षको आयोजनाको बोलपत्र प्रक्रिया सुरु भएकाले बोलपत्र हुन नसकेका र योजना फेरबदल गर्नुपर्ने हुनसक्ने भएकाले पनि हिउँदे अधिवेशन सुरु हुन समय लागेको जानकारी दिए ।

नगरसभा तथा गाउँसभा बोलाउनुभन्दा १५ दिन पहिले नगरप्रमुख वा अध्यक्षले सूचना जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाको केही स्थानीय तहले कार्यान्वयन गरेको भए पनि केही जनप्रतिनिधि सो व्यवस्थाको जानकारी नभएको जस्तो समेत गर्दै आएका छन् ।

भजनी नगरपालिकाले पनि हिउँदे अधिवेशनको कुनै तयारी गरेको छैन । नगरपालिकाले यही माघ महिनाभित्रै नगर अधिवेशन गर्ने बताए पनि नगरसभाको कार्यविधिअनुसार माघमा सम्भव देखिएको छैन ।

नगरप्रमुख शेरबहादुर चौधरीले नगरसभाका तयारीमा रहेको अवस्थामा अधिकांश कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण हुँदा कार्यालय नै बन्द गर्नुपरेको बताए ।

माघ महिनामा हिउँदे अधिवेशन गर्ने तयारी थियो । संक्रमणका कारण प्रभावित भएको छ । हामी नगरसभाको उद्घाटन त माघ महिनाभित्रै गछौ, उनले भने, गत वर्षभन्दा हामी ढिलो पक्कै पनि भएका छौ, तर पनि यसले कुनै समस्या ल्याउलाजस्तो लाग्दैन र अर्को कुरा यस वर्ष पार्टीका अधिवेशनले पनि पुसमा गर्नुपर्ने अधिवेशन ढिलो भएको हो ।

जानकी गाउँपालिकाले पनि गाउँसभा बोलाउन सकेको छैन । गाउँ कार्यपालिकाको बैठकले माघ २० देखि २५ गतेभित्र गाउँसभा बोलाउने निर्णय भएको जनाएको छ । गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले विगतका वर्षहरूमा पनि गाउँसभाको हिउँदे अधिवेशन माघ महिनामै गर्दै आएको बताए ।

हिउँदे अधिवेशनका लागि निर्णय गरिसकेका छौ । माघ २० देखि २५ सम्म गाउँसभाको उद्घाटन हुन्छ । सकेसम्म माघ महिनामै नभए आगामी फागुन पहिलो सातासम्म अधिवेशन सम्पन्न गर्छौ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार