अनेरास्ववियुद्वारा विरोध प्रदर्शन
धनगढी / पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधका साथै स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियु तथा युवा संघले धनगढीमा प्रदर्शन गरिएको छ ।
अनेरास्ववियू र राष्ट्रिय युवा संघले धनगढी बजार क्षेत्रमा प्रदर्शन गरेका हुन । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए ।
अनेरास्ववियूका कैलाली अध्यक्ष किशोर शाहका अनुसार मुख्यमन्त्री कार्यालय बाहिर प्रहरीसंग युवा तथा विद्यार्थीको केहीबेर झडप पनि भएको थियो ।
तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारावाजी गरेका थिए ।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएको छन् । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ ।
योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ रुपैयाँ कायम भएको छ ।